पहिरोले बूढीगङ्गा नदी थुनिने खतरा

हिमालपोस्ट/काठमाडौँ
बाजुरा – लगातारको वर्षासँगै पहिरो खसेका कारण बाजुरा जिल्लाको सबैभन्दा ठूलो बूढीगङ्गा नदी थुनिएको छ।
वर्षासँगै नदीमा पानीको बहाव बढ्दै जाँदा र त्रिवेणी नगरपालिका – ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको हो ।
पहिरोले बूढीगङ्गा नदी थुनिएपछि नदी आसपासमा रहेका अछामको बूढाबगर र साँफेको बस्तीमा जोखिम बढेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले जानकारी दिए ।
पहिरोले बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने झोलुङ्गे पुल, दुवैतर्फको खेतीयोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको प्रमुख रावलले बताए । हिउँदको समयमा सुख्खा पहिरो बगे पनि त्यसले खासै असर गरेको नगरेको बताउँदै रावलले वर्षात्मा नदीमा पानीको बहाव बढ्ने भएपछि नदी थुनिने खतरासँगै फुटेर बस्ती नै जोखिममा रहने बताए । नदी थुनिने जोखिम बढेपछि स्थानीयबासिन्दालाई समेत सचेत गराइएको उनले बताए।

