हात खुट्टा नभएका बुद्धिमानलाई सल्यानवासीको १ लाख सहयोग
काठमाडौँ – कामको सिलसिलामा भारतमा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका सल्यानका बुद्धिमान कुँवरलाई देश विदेशमा रहेका सल्यानवासीले एक लाख भन्दा बढी नगद सहयोग गरेका छन् ।
केही महिना अगाडी भारतमा करेन्ट लागेर हात र खुट्टा गुमाएपछी सामान्य उपचार गरेर नेपाल फर्केका बुद्धिमान सहयोगको याचना गर्दै काठमाडौँमा बस्दै आएका छन् । उनले राम्रो सहयोग उठ्यो भने हात र खुट्टा फेर्न सकिन्छ कि भन्ने आशा पनि राखेका छन् । सल्यान पुर्ख्यौली घर भएका बुद्धिमान अहिले २३ वर्षका भए उनी १६ वर्षकै उमेरमा भारत पसेका थिए ।
घरको आर्थिक अवस्था कमजोर भएको कारण ऋण तिर्न भारत गएका उनी फर्कँदा भने हात र खुट्टा गुमाएर फर्के । काठमाडौँ आएपछि केही सहयोग उठिरहेको र अब उपचार गरेर ठिक भइन्छ कि भन्ने आशा पलाएको उनले हिमालपोष्टलाई बताए ।
बुद्धिमानकै गाउँले गायिका चन्द्रकला कुँवरले मिडियामा देखिपछी उनलाई केही सहयोग गरौँ भन्ने लागेर दुबईमा बस्ने प्रेमराज गिरीसँग बताइन र देश विदेशमा रहेका नेपालीहरूबाट सहयोग सङ्कलन गरी १ लाख ४ हजार ४ सय पचपन्न रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
निकै नै दर्दनाक अवस्थामा रहेका बुद्धिमान सहयोग लिँदै गर्दा निकै भावुक बने र उनले भने म ठिक भएपछि अपाङ्गहरूकै सेवा गर्न पाउँ । उनले अगाडी भने हिजो गाउँ घरमा सबैले कुरा काट्थे सबैले गिज्याउँथे, किन बाँचेर बोझ बनिरहेको छु भन्ने लाग्थ्यो । काठमाडौँ आएपछि सबैले सहयोग गर्दा भोलि बाँचेर धेरै कुरा गर्न सक्छु भन्ने लागेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा जल राप्ति डिजिटलका कलाकार लगायत सर्जक राजन पनेरुको पनि उपस्थिति थियो ।