ललितपुर महानगरपालिकाले दुई करोडको ‘ब्रुमर’ भित्र्याउँदै - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

ललितपुर महानगरपालिकाले दुई करोडको ‘ब्रुमर’ भित्र्याउँदै



ललितपुर महानगरपालिकाले सडक सफा गर्न कुचो र झाडुको साटो करोडभन्दा बढी मूल्य पर्ने ‘ब्रुमर’ खरिद गर्ने भएको छ ।

कुचीकारको परम्परागत झाडुभन्दा सडक सफा गर्न ब्रुमर उत्कृष्ट हुने महानगरले दाबी गरेको छ । खर्चको हिसाबले पनि सस्तो पर्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

‘दुई वटा ठूला ब्रुमर खरिद गर्ने योजना छ तर महानगरपालिकाले तत्काल एउटाको मात्र टेन्डर खुलाएको छ’, उनले भने ।अन्तर्राष्ट्रिय मापदण्डअनुसार सडक सफा गर्दा धुलो, धुवाँ उडाएर बटुवालाई दुःख दिन नमिल्ने उनले बताए ।

आफूले चुनावी अभियानका क्रममा धुलो नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको पनि उनले स्मरण गरे । मेलम्ची खानेपानी वितरण आयोजना अव्यवस्थित भएकाले आफूले प्रतिबद्धता पूरा गर्न नपाएको पनि उनले सुनाए ।

‘मेलम्ची आयोजना व्यवस्थित हुनासाथ ललितपुरलाई सबैभन्दा उत्कृष्ट सहर बनाउँछु’, उनको दाबी छ । सडक विभागले अघिल्लो महिना सानो आकारको एउटा ब्रुमर ललितपुर महानगरपालिकालाई उपलब्ध गराएको छ ।

तत्काल एउटा मात्र ब्रुमर खरिदका लागि टेन्डर गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनले भने, ‘हाललाई २ करोड ४० लाख रुपैयाँको ब्रुमर खरीद गर्न लागिएको छ ।’

मूल सडक सफा गर्न ठूलो ब्रुमर चलाइने छ । सडकको अवस्था हेरी तत्काल कुपन्डोलदेखि लगनखेलसम्म ठूलो ब्रुमर प्रयोग गरिने जानकारी महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्यले जानकारी दिए । उनले भने, ‘पाटन दरबार स्क्वायर, कृष्णमन्दिरजस्ता पर्यटकीय क्षेत्र दृष्टिगत गरी सानो ब्रुमर त्यहाँ प्रयोग गरिने छ ।’