वृद्धवृद्धाहरुलाई अस्पताल र यातायातमा छुट

विशाल पाण्डेय / घोडाघोडी ।
जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ ।
“हर प्रहर ,गाउँ र नगरी ,टोल टोलमा नेपाल प्रहरी” को नारासहित समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय सुखडको आयोजनामा बिहीबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपस्थिति रहेका अधिकांश वृद्धवृद्धाहरुले यातायात र अस्पतालमा छुट पाउनु पर्ने बताएका छन् । सहभागीहरुले जनप्रतिनिधिहरुले घर घरमा वृद्ध भत्ता पुर्याउने बताएपनी अहिले सकि नसकी बैंकमा लाइन लाउनु पर्ने बाध्यता रहेको बताएका छन् । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका -१० का विष्णु प्रसाद मिश्रले सरकारले वृद्धवृद्धाहरुलाई यातायात र अस्पतालमामा छुट दिने नीति ल्याएपनि स्थानीय पालिकाहरुमा भने लागू नभएको बताउनु भयो । उहाले पालिकामा अस्पताल र यातायातमा छुटको ब्यवस्था नहुदा आफुहरु मर्कामा परेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका-१० कै लक्ष्मी प्रसाद शर्माले वृद्धवृद्धाहरुकालागि स्थानीय सरकारले कार्डको ब्यवस्था गर्नुपर्ने बताउनु भयो । यस्तै घोडाघोडी नगरपालिका -१ का दुर्गा प्रसाद ओझाले घोडाघोडी नगरपालिकामा पहिलो पटक वृद्धहरुको समस्या सुन्नको लागि कार्यक्रम आयोजना गरेकोमा प्रहरी तथा नगरपालिकालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा घोडाघोडी अस्पताल प्रा.लि का संचालन समितिका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले घोडाघोडी नगरपालिकामा सुविधा सम्पन्न सामुदायिक अस्पतालको माग गर्दै आइरहेको बताउनु भयो । उहाले आफू निजि अस्पतालको संचालन समितिको अध्यक्ष भएपनी जेष्ठ नागरिक मैत्री सामुदायिक अस्पतालको पटकपटक माग गर्दै आइरहेको बताउनु भयो । सापकोटाले वृद्ध भत्ता तथा एकल महिलाको भत्ता बुझ्ने जेष्ठ नागरिकहरुले कार्ड देखाएर आफ्नो निजि अस्पतालमा करिब १० देखि २० प्रतिशतसम्म छुट दिने समेत घोषणा गर्नु भयो । उहाले भन्नुभयो ,” निजि अस्पतालले औषधिमा छुट गर्न नसकेपनी जेष्ठ नागरिकको कार्ड देखाएर ल्याब परिक्षण तथा अप्रेसन गर्दा छुट पाउनुहुन्छ ।”
घोडाघोडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष भिम बहादुर बोगटीले मनोमानी ढंगले परिवारका सदस्यहरुले
वृद्ध भत्ता बुझ्ने गरेको हुँदा सरकारले नै बैंकमा रकम उपलब्ध गराउने नियम ल्याएको बताउनु भयो । उहाले भन्नुभयो , वृद्धवृद्धाहरुलाई धोका दिएर परिवारका सदस्यहरुले वृद्ध भत्ता बुझी अन्तै खर्च गर्ने पाइएपछी सरकारले बैंकमा भत्ता रकम जम्मा गर्ने नियम ल्यायो हामी बाध्य भयौ र घर घरमा भत्ता पुर्याउन सकेनौं ।”
वृद्ध भत्ता तथा एकल महिला भत्ता छोराछोरीहरुले लिएर मनोमानी ढंगले खर्च गर्दिने र खोसेर लिने हुँदा बैंकबाट भत्ता बुझ्ने व्यवस्था गरिएको घोडाघोडी नगरपालिकाका प्रवक्ता मनराज शाहिले बताउनु भयो । मानिसहरूले नबुझेर भत्ता पछि नपाइने डरले बैंकमा लाइन लगाएर बसि भत्ता बुझेको बताउदै प्रवक्ता शाहिले आफ्नो खातामा आएको रकम केही नहुने हुँदा भिड नहुदा गएर निकाल्न मिल्ने बताउनु भयो । शाहीले घोडाघोडी नगरपालिकामा करिब १ महिना भित्रमा वृद्ध तथा एकल महिलाहरुलाई परिचय कार्ड वितरण गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
यस्तै कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगरपालिकामा छलफल गरि चाडै नै जेष्ठ नागरिककोलागि कार्ड बनाउने बताउनु भयो । वृद्ध भत्ता गाउँमा बाड्दा बढी बेथिति भएको हुनाले बैंक प्रणालीबाट बाडिएको नगर प्रमुख चौधरीले बताउनु भयो । उहाले भन्नुभयो , “भत्ता बुझ्नको लागि वृद्धवृद्धाहरुलाई नगरपालिकामा पुग्न गार्हो हुने हुदा सरकारको नियम अनुसार वडामा भएका बैंकमा भत्ता बुझ्ने व्यवस्था गरिएको छ ।” आगामी दिनमा गाउँ गाउँमा पुगेर भत्ता बाड्ने बाताबरण मिलाउनको लागि बैंकसंग सम्झौता समेत भएको छ ।” , उहाले थप्नुभयो ।
नगर प्रमुख चौधरीले वृद्ध वृद्धाहरुलाई स्वास्थ चौकीसम्म जानको लागि निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने बताउनु भयो । घोडाघोडी नगरपालिकाले एम्बुलेन्स खरिदको लागि प्रक्रिया अगाडि बढाएको बताउदै नगर प्रमुख चौधरीले एम्बुलेन्सको मापदण्ड परिवर्तन भएको हुनाले चाडो आउन नसकेको बताउनु भयो । नगर प्रमुख चौधरीले घोडाघोडी नगरपालिकाले असहायका लागि सहारा घर निर्माण गर्ने समेत जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार प्रकाश मिश्रले गर्नु भएको थियो ।

