सुविधाको नाममा बृद्वाभत्ताको लागी सास्ती

दशरथ घिमिरे
दाङ । लमही नगरपालिका वडा नं. २ निवासी रेश्मा कुमारी रावतले आँखा देख्दिनन् । हिंड्डुल गर्न अरूको सहारा चाहिन्छ । दिसापिसाब पनि अरूले स्याहारदिनुपर्छ । तर, यी वृद्ध भत्ता थाप्न अटो रिक्सामा चढेर लक्ष्मी बैंक लमहीमा पुगिन् ।
रावतको साथमा उनकी बहिनी थिइन् । ‘आँखा देख्दिन, ज्वरो आएको छ, अझै सन्चो भएको छैन’, रेश्मा कुमारी रावतले भनिन्– ‘भत्ता पाएर उपचार गरुँला भनेर आएकी हुँ’, उनले भनिन्– ‘मेरो उमेर ८० वर्ष पुगिसक्यो तर, नागरिकता बनाउन उमेर घटाएर बनाईदिएछन् ।’ वृद्ध भत्ता पाउने उमेर पुगिसके पनि नागरिकतामा कम उमेर बनाइदिएपछि अपाङ्गताको भत्ता बुझ्न बैंक आउनुभएको हो ।
लमही नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् वितरण गर्न थालेको छ । बैंकमा भत्ता रकम दाखिला भएपछि जहिले पनि निकाल्न सकिन्छ । तर, जेष्ठ नागरिकलाई यो कुरा बुझाउन नसक्दा भत्ता जम्मा भएलगत्तै बैंकमा निकाल्नेहरूको भिड लाग्ने गरेको हो । लमही–४ निवासी साङ्ली चौधरी भत्ताको लागि बैंक नखुल्दै बैंक अघि लाईनमा बसिन् ।
तर, पछि बुझदै जाँदा वडा नं. ४ को पालो अरू कुनै दिन रहेको खबर आयो । दुई घण्टा लाइनमा बसेपछि खाली हात फर्कनुप¥यो । ‘विधुवा भत्ता बुझन आएकी हुँ तर, आज पालो होइन भनेर फर्किन थाले’, उनले भनिन्– ‘भत्ता गाउँमा पुगेर बाँडेपनि हुन्थ्यो, बजार आउँदा गाडी भाडा तिर्नुपर्छ, पैसा भाडामा जान्छ ।’ हिंड्डुल गर्न नसक्नेहरू अटो रिक्सा रिजर्ब गरेर बैंक पुग्ने गर्छन् ।
भत्ता बुझन आएकाहरूको गाडी भाडामा खर्च हुने गरेको छ । घरसम्म सामाजिक सुरक्षा भत्ता पु¥याउनेसम्मको प्रतिबद्धता सुनेर धेरै दंग परे । कति त साँच्चै अब भत्ता बुझन दुःख नहुने भयो भनेर ढुक्क बनेको पाइयो । तर, सामाजिक सुरक्षा बापतको भत्ता बुझ्न जेष्ठ नागरिकहरूले सास्ती ब्यहोर्नु परिरहेको छ । बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण थालिएपछि बैंकमै वृद्धवृद्धाहरूको लाइन लाग्ने गरेको छ ।
लमही नगरपालिकाको वडा नं. १, २, ३, ४, ५ र ६ वडाको सामाजिक सुरक्षा भत्ता लक्ष्मी बैंक लमहीबाट, वडा नं. ७ को सांग्रीला विकास बैंक लमहीबाट तथा ८ र ९ वडाको सामाजिक सुरक्षा भत्ता भार्गव विकास बैंकबाट वितरण सुरु गरेको लमही नगरपालिकाका सूचना अधिकारी लालमणी सुवेदीले जानकारी दिए । बैंकसम्म आउन नसक्ने सेवाग्राहीको संयुक्त खाता सञ्चालन गरिएको छ ।

