भारतीय विश्लेषकले भने: विपी कोइराला इतिहासकै महान हस्ती - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतीय विश्लेषकले भने: विपी कोइराला इतिहासकै महान हस्ती



ईन्द्र कमल जैरु/नयाँ दिल्ली 

भारतका वरिष्ठ राजनीतिक विश्लेषक एवं नेपाल मामिलाका जानकार अजीत सिंहले १९८०/८९  को दशकमा वैश्विक रूपमा भएको राजनीतिक परिवर्तनपछि विपी कोइराला महान् राजनीतिक हस्ती भएको बताउनुभएको छ ।

३६ औँ विपी स्मृति दिवसका अवसरमा अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले भारतको राजधानी दिल्लीमा आयोजना गरेको विपीको सन्दर्भ तथा आजको युवा राजनीतिको विषयमा संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै सिंहले यस्तो बताउनुभएको हो । उहाँले १९८०/८९  को दशकमा विश्वका विभिन्न देशमा चल्दै आएको पुरानो राजनीतिक परम्परा परिवर्तन भएर नयाँ राजनीतिक परम्पराको सुरुवात भई आर्थिक विकासले गति लिएको बताउनुभयो । सोहि अवसरमा  सोभियत सङ्घमा कार्लमार्क्स चीनमा डेन र नेपालमा विपी कोइराला महान् हस्ती भएको बताउनुभयो ।

भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले कुनै बेला विपी कोइरालाप्रति दिएको अभिव्यक्ति सम्झँदै सिंहले विपीको पूर्णरुप विश्वेश्वरप्रसाद मात्रै नभएर ‘बडा प्रयास’ पनि भएको बताउनुभयो । उहाँले नेपालको वर्तमान राजनीतिक समयमा पनि नेपाललाई सही दिशा दिन त्यसप्रकारको ‘बडा प्रयास’ अवलम्बन गर्नुपर्ने बताउनुभयो । विपीको चर्चा गर्दै उहाँले राष्ट्रको विषयमा कुनै पनि वाद राष्ट्रवादभन्दा माथि नहुने बताउनुभयो । यदि कुनै वाद राष्ट्रवादमाथि हाबी भयो भने त्यस्तो वाद त्याग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विपी चिन्तन प्रतिष्ठानका संस्थापक अध्यक्ष सन्दिप रानाले विपी कोइराला नेपालको मात्रै नभएर समाजवादको नाममा समग्र दक्षिण एसियाकै नेता भएको स्मरण गर्नुभयो । उहाँले विपीले नेपालको प्रजातान्त्रिक स्थापनाका लागि मात्र नभएर भारतको स्वतन्त्रताका लागि पनि योगदान दिएको चर्चा गर्नुभयो ।
कार्यक्रममा विभिन्न सङ्गठनका प्रतिनिधिले युवा राजनीतिको बारेमा छलफल गरेका थिए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष सन्दिप रानाले अध्यक्षता गरेको कार्यक्रममा भारतका वरिष्ठ राजनीतिक विश्लेषक एवं नेपाल मामिलाका जानकार अजीत सिंह प्रमुख वक्ताका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति, तरुणदल उत्तर भारत, नेबिसंघ भारत, सिए नेबिसंघ, हातेमालो नेपाली स्टुडेन्ट्स ग्रुप, नेप्लिज स्टुडेन्ट हेल्पिंग ह्यान्ड र युनाईटेड मधेसी नेपालका प्रतिनिधि उपस्थित रहेका थिए ।

अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले यसअघि पनि पटक पटक बौद्धिक कार्यक्रम गर्दै आएको छ ।