देशका विभिन्न स्थानमा बम फेला
काठमाडौँ –
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बम फेला परेका छन् । सोमबार बिहानैदेखि फेला परेका शङ्कास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारिरहेको छ । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालयनजिकै बिहान करिब पौने तीन बजे प्रहरीको गस्ती टोलीले सेतो झोलामा फेला पारेको शङ्कास्पद बस्तुलाई सुरक्षाकर्मीले निष्क्रिय पारेको छ ।
अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवाशीय मा.वि.मा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शङ्कास्पद बस्तु फेला परेका छन् ।
नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।
मोरङको सुन्दरहरैंचा ७ ठडिया चोकनजिक फेला परेको प्रेसरकुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ ।
रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।
कपिलवस्तुको वाणगङ्गाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शङ्कास्पद वस्तु फेला परेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेँसी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीअनुसार, गजुरीबाट आएको नेपाली सेनाको टोलीले चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।
पोखराको तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकपेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए । ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।
बन्दको क्रममा हेटौँडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको निष्क्रिय पारेको छ ।
विप्लव समूहले आह्वान गरेको बन्द सफल पार्न शङ्कास्पद वस्तु विभिन्न ठाउँमा राखिएको अनुमान गरिएको छ ।