नेकपाभित्र पूर्वमाओवादीहरूको 'बोल्ती बन्द' - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेकपाभित्र पूर्वमाओवादीहरूको ‘बोल्ती बन्द’



नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता ठूलो र चर्को बहसमा जोडिएका छैनन्, जब कि पूर्वमाओवादीमा हुँदा उनीहरूले कहिलेकाहीँ सीमासमेत तोडेर ‘उग्र’ बहस गर्थे।

तर, ती नेता तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि चुपचाप छन्, मौनता साधेर लाभ–हानिको आकलन गरिरहेका छन् ।

पूर्वमाओवादी नेताहरूको मौनता देखेर प्रचण्ड पनि चकित भएका खबर आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन्।

माओवादी समूहका नेताहरूले ढुक्कसँग आफ्नो कुरा राख्न नसक्नुको मतलब सबै कुरा प्रचण्डको हातमा छैन । प्रचण्डको पछि लागेर मात्रै हुँदैन भन्ने बुझेका छन् ।

जोखिम छ, जोखिम मोल्न उनीहरू तयार छैनन् । नेतृत्वमा ओली हाबी भइराखेका छन् । अप्ठ्यारो पर्‍यो भने प्रचण्डले मात्रै जोगाउन सक्दैनन् भन्ने परेको हुन सक्छ । त्यो भएपछि बोल्न गाह्रो हुन्छ।

तत्कालीन माओवादीमा हुँदा शक्ति बस्नेत राजनीतिक–वैचारिक बहस गर्ने नेताका रूपमा चिनिन्थे । तर, झन्डै डेढ वर्ष भयो उनी पार्टीको विचार, विधि–विधान र संगठनात्मक दाउपेचको बहसमा कतै देखिएका छैनन्, सुनिएका छैनन् ।

मन्त्री बस्नेतको जस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन पनि नेकपाको आन्तरिक जीवनबारे धेरै बहसमा छैनन् ।

विभागीय मन्त्रालय मार्फत ‘ऊर्जा’ निकाले पनि उनले पार्टी जीवनमा धेरै ‘ऊर्जा’ खर्च गरेका छैनन् । पार्टीका विधि–विधान र विचारबारे स्थायी समिति सदस्यसमेत रहेका पुनले कतै सार्वजनिक बहस गरेको पाइन्न ।

मन्त्रीको जिम्मा पाएका मात्र होइन बाहिर बसेका पूर्वमाओवादीका अरू धेरै नेता पनि बहसमा छैनन् । खेलमाथि रुचि राख्ने टोपबहादुर रायमाझी पनि नेकपाको आन्तरिक खेलमा सहभागी छैनन् ।

पूर्वमाओवादीको आन्तरिक जीवन र शक्ति संघर्षमा कहिले प्रचण्ड–बाबुराम त कहिले प्रचण्ड–बादललाई जोड्न भूमिका खेल्ने रायमाझी अहिलेचाहिँ ‘निस्क्रिय’ जस्तै छन् ।

स्थायी समिति सदस्य रायमाझी वैचारिक–राजनीतिक बहसमा पनि खासै सहभागी छैनन्।

स्थायी समिति सदस्य मणि थापाले कुरा राख्दा पेलानमा परिन्छ भन्ने भएपछि कम बोलेको हुन सक्ने तर्क गरे । ‘धेरै कुरा राख्दा पेलानमा परिन्छ कि भन्ने पनि होला,’ थापाले भने ।