भारतको कर्नाटकमा भाजपाको सरकार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतको कर्नाटकमा भाजपाको सरकार



बेंगलुरु, । भारतको कर्नाटक राज्यमा अन्ततः भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएको छ ।

प्रष्ट बहुमत नभए पनि ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाएको हो । बिहीबार बिहान कर्नाटक विधानसभाका भाजपा विधायक दलका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।

२२४ सदस्यीय विधानसभामध्ये २२२ सिटमा भएको निर्वाचनमा भाजपाले १०४ सिट जितेको छ । कांग्रेसले ७८ र जनता दल (सेक्युलर) ले ३७ सिटमा जित हासिल गरेको छ । अन्य दल तथा स्वतन्त्रले तीन सिट जितेका छन् ।

बहुमतका लागि ११२ सिट जरुरी भए पनि ठूलो दल बनेको भाजपासँग प्रष्ट बहुमत छैन । उता, जनता दल (सेक्युलर)लाई कांग्रेसले समर्थन जनाउने घोषणा गरेको छ । कांग्रेसको समर्थनकै आधारमा जनता दल (सेक्युलर) ले सरकार बनाउने दावी राज्यपाल समक्ष गरे पनि भाजपाले सरकार गठनको अवसर पाएको हो । कांग्रेस र जनता दल (सेक्युलर) मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।

राज्यपालले संवैधानिक अधिकार प्रयोग गर्दै भाजपालाई सरकार बनाउन निमन्त्रणा गरेपछि कांग्रेस र जनता दल (सेक्युलर) आश्चर्यचकित भएका छन् । दुवै दलले गएराति सुप्रिम कोर्टमा उजुरी दायर गरेका थिए । मध्यरात मै अदालतमा सुनुवाई भए पनि येदियुरप्पालाई सपथ लिनबाट रोक्ने अन्तरिम आदेश जारी नभएका कारण राज्यपालले बिहीबार बिहानै उनलाई सपथ गराएका छन् । अदालतले शुक्रबार यस सम्बन्धमा सुनुवाई गर्ने भएको छ । (एजेन्सी)