महामन्त्रीमा विश्वप्रकाशको उमेदवारी घोषणा: कुन प्यालनबाट लड्दैछन् उनी ? - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

महामन्त्रीमा विश्वप्रकाशको उमेदवारी घोषणा: कुन प्यालनबाट लड्दैछन् उनी ?



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ढंगले जागरण गर्ने भन्दै महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् ।

बिहीबार बीपी संग्रहालय सुन्दरीजल पुगेर उमेदवारी घोषणा गरेका शर्माले पार्टीलाई १५ वर्षको संकल्प गराएर लगातार तीनपटक चुनाव जिताउन आफूले उमेदवारी घोषणा गरेको दाबी गरे ।

“बीपी कोइरालाले सपना देख्नुभयो र १५ वर्षभित्र सबै नेपालीलाई मेरो परिवारको स्तरको आय–आर्जन गर्न सक्ने बनाउँछु भन्नुभएको थियो,” बीपीको भनाइ उद्धृत गर्दै शर्माले भने, “२०१६ साल जेठ १५ गते प्रधानमन्त्री भएका बीपीले ३१ सालसम्म मलाई प्रधानमन्त्री चाहिन्छ भनेको होइन, जनतालाई तीन कार्यकाल अनुमोदन गर्नुभयो भने यस्तो हुन्छ भन्नुभएको थियो । अब नेपाली कांग्रेसले पनि अबका १५ वर्षको परिकल्पना गर्न जरुरी छ ।”

उनले कांग्रेसले एउटा निर्वाचन जितेपछि दोस्रो निर्वाचन हार्ने गरेको भन्दै १५ वर्षको परिकल्पना नभए कांग्रेसमा पनि सुधार नआउने दाबी गरे ।

“मलाई महामन्त्री बनाउनुभयो भने तपाईंहरू सबैको साथ, सहयोग र समर्थन लिएर कांग्रेसलाई १५ वर्षको परिकल्पना गराउनेछु,” शर्माले भने, “युवाहरूमा जागरणसहित पार्टीमा नयाँ जागरण र नयाँ आकर्षण निर्माण गर्नेछु ।”

रुद्राक्षको बिरुवा रोपेर त्यसमा पानी हाल्दै उमेदवारी घोषणा गरेका शर्माले कुन प्यालनबाट महाधिवेशन लड्ने भन्ने विषय भने खुलाएका छैनन् ।