निर्वाचन अधिकृत विष्णु पौडेलका खास व्यक्ति भएको खुलासा, यस्तो रहेछ मिसन
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतनिधिसभा सदस्यको लागि उम्मेदवारी मध्यरातमा खारेज गरेपछि निर्वाचन आयोग र त्यहाँका अधिकृत विवादमा तानिएको छ । २८ वर्षीय डा. कमल भुसाल (निकोलस) र सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी मध्यरातमा खारेज गरेर फरार भएका निर्वाचन अधिकृतका कारण दिनभर बुटवलस्थित रुपन्देही २ को निर्वाचन कार्यालय तनावग्रस्त बन्यो ।
विवादमा तानिएका अधिकृत उद्बिर नेपाली दिनभर कसैको सम्पर्कमा आएनन् । उनी कहाँ छन् भन्नेबारे निर्वाचन कार्यालयका कर्मचारी पनि अनविज्ञ थिए । उनीहरूसँग पनि नेपाली सम्पर्कमा नभएको एक सहायक निर्वाचन अधिकृतले बताएका थिए । उनी सम्पर्कबिहीन भएपछि कार्यालय वरपर जम्मा भएका सर्वसाधारण देखि दाला कार्यकर्ताहरूले अनेक अड्कल काटे ।
निर्वाचन अधिकृतबारे धेरै चर्चा र गसिपहरू भए । यहीबीच उद्बिर नेपालीबारे केहि तथ्य बाहिर आए । उनी नेकपा एमालेको कार्यकर्ता भएको खुल्यो । राष्ट्रिय सभाका अध्यक्ष तथा एमाले नेता गणेश तिमिल्सिनाको सचिवालयमा काम गरिरहेका उनी काजमा रुपन्देही २ को निर्वाचन अधिकृत बनेर आएको खुल्यो । त्यसपछि उनी एमाले निकट रहेको र फरार रहेको भन्दै मिडियामा समाचार आउन थाले ।
रुपन्देहीका राजनीतिक दलहरूले निर्वाचन अधिकृत नेपाली कसैको इसारामा चलेको भन्दै उनकोविरुद्धमा नगरपालिका नजिकै रहेको उक्त कार्यालय अगाडी नाराबाजी पनि गरेका थिए । सर्वसाधारणदेखि दलसम्वद्ध व्यक्तिहरूलाई कार्यालय छिर्न बन्चित गरिएको थियो । बाक्लो संख्यामा प्रहरी परिचालन गरेर गेट बन्द गरिएको थियो ।
मङलबार मध्यरातमा उम्मेदवारहरूको उम्मेदवारी खारेज गरेर विवादमा मुछिएका नेपाली बुधबार रातिसम्म सम्पर्कमा थिएनन् । मंगलबार राति १२ बजे रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङ र लौरो चुनाव चिन्हबाट उठेका डा. निकोलस भुसालको उम्मेदवारी खारेज गरेर कार्यलयबाट निस्किएका नेपाली फरार भएको भन्दै सामाजिक सञ्जाल तातेको थियो ।
यसैलाई आधार बनाएर स्वतन्त्र उम्मेदवारहरू विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले भुसालविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा अधिकृतको कार्यालयले भुसालको उम्मेदवारी खारेज गरेको हो । रोचक त के छ भने स्वतन्त्र भनेर डमी उम्मेदवार दिने र उजुरी गर्ने विष्णु विश्वकर्मा र टोपनारायण पौडेल पनि एमालेकै स्थानीय नेताहरू रहेको खुलेको छ ।
निर्वाचन अधिकृत नेपालीकी श्रीमती गण्डकी प्रदेशसभामा एमालेको उम्मेदवार रहेको समेत खुलेको छ । जिल्ला निर्वाचन कार्यालयका एक उच्च अधिकारीका अनुसार नेपाली विष्णु पौडेलकै जोडबलमा रुपन्देही २ मा आएका हुन् । यसअघि स्थानीय निर्वाचन हुँदा पनि वालीङमा उनी निकै विवादित बनेको खुलेको छ ।
गठबन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा अदालतमा विचाराधीन रहेको र डा. निकोलस भुसालले कुनै लाभको पद नलिएको टिचिङ अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरिरहेको बताइएको छ । निकोलसले टिचिङ अस्पतालबाट बैसाखदेखि कुनै सेवा सुबिधा समेत लिएका छैनन् भने उनले लिएको छात्रवृत्ति कुनै लाभको पद होइन । अधिकृत नेपालीले उम्मेद्वारी खारेज गर्दा निकोलसले लाभको पद लिएको भन्दै व्याख्या गरेका छन् ।
उम्मेदवारी दिनुअगावै डा. भुसालले आफू अध्ययनरत संस्थाबाट एक वर्षको लागि बिदा लिएको र छात्रवृत्ति पनि नलिएको बताउँछन् । भुसालले प्रतिनिधिसभामा उम्मेदवारी दिने योजना बनाएपछि छात्रवृत्ति लिएका छैनन् । ‘एक वर्षको छुट्टी लिएर आएको हो । ५ महिना भयो छात्रवृत्ति लिएको छैन । कुनै पनि सरकारी लाभ लिएको छैन,’ उनी भन्छन्।
अधिकृत नेपालीले गरेको निर्णय कानुनसम्मत नभएको संविधानविद भीमार्जुन आचार्यले बताएका छन् । छात्रवृत्ति कुनै लाभको पद पनि होइन, त्यसमाथि उम्मेदवारलाई प्रमाण जुटाउन ७ दिनको समय दिनुपर्ने कानुनमा उल्लेख भएकाले उनले गरेका काम कानुनसम्मत नभएको आचार्य बताउँछन् ।
उद्बिर नेपाली विष्णु पौडेलका खास व्यक्ति
यहीबीच उद्बिर नेपाली रुपन्देही २ का उम्मेदवार विष्णु पौडेलका खास व्यक्ति भएको खुलेको छ । निर्वाचन आयोग स्रोतका अनुसार पौडेलले नै उनलाई निर्वाचनमा आफ्नो क्षेत्रमा पार्न निकै कसरत गरेका थिए । उनी राजनीतिक शक्तिको आडमा रुपन्देही–२ मा निर्वाचन अधिकृत भएकोले पनि उनीमाथि थुप्रै शंका गर्ने ठाउँ छन् ।
इतिहासमै राजनीतिक रूपमा कमजोर भएका पौडेललाई जिताउने ग्राण्डडिजाइन अनुसार अधिकृत चलेको आरोप लागिरहेका बेला उनीबारे खुलेका केहि रहस्यले आश्चर्य सिर्जना गर्छन् । उनीसँगै काम गरेका एक शाखा अधिकृतका अनुसार नेपालीले कार्यालयमा समेत विष्णु पौडेल र एमाले नेताहरूको आडमा विभिन्न अवसर हात पार्ने गरेका छन् ।
उनी प्राय गरेर एमाले नेताहरूसँगै हुने गरेको पनि भेटिएको छ । नेपाली रुपन्देही २ का उम्मेदवार पौडेलसँग केहि फोटोहरूमा पनि भेटिएका छन् । उनलाई आफ्नो अभिष्ट पुरा गर्न पौडेलले खटाएको देखिन्छ । त्यसमाथि पौडेललाई फाइदा हुनेगरी कानुनकै उल्लङ्घन गरेर नेपालीले गरेको निर्णयले विष्णु पौडेलको धरातल निकै कमजोर बनेको देखिन्छ ।