यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले काठमाडौंको बालुवाटारस्थित आफूले किनेको जग्गाका विषयमा थप छानबिन गर्न माग गरेका छन् ।

महासचिव पौडेलले शुक्रबार विज्ञप्ती जारी गरी बालुवाटारमा आठ आना जग्गा सम्बन्धित कार्यालयले प्रचलित कानुनअनुसार किन्न मिल्ने एकिन गरेकाले आफूले खरिद गरेको भन्दै यस सम्बन्धमा यथाशीघ्र थप छानबिन गर्न माग गरेका हुन् ।

उनले छानबिनबाट आएका निष्कर्ष कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् । राज्यको आधिकारिक निकायबाट हुने छानबिन र निष्कर्षहरुमा आफ्नो पूर्ण समर्थन रहने विज्ञप्तिमार्फत् उनले जनाएका छन् ।

महासचिव पौडेलले बालुवाटारको कित्ता नं ३०९ को एक पैसा एक दाम र कित्ता नं ३१५ को ७ आना २ पैसा ३ दाम गरी कुल काठ आना जग्गाको सम्बन्धमा वास्तविकता ओझेलमा पार्ने गरी समाचार सार्वजनिक भइरहेको आरोपसमेत लगाएका छन् ।

सरकारी जग्गा हडप्ने दूषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा आफू संलग्न नरहेको विकिरसमेत विज्ञप्तिमा गरेका छन् ।

यसअघि पनि उनले सो जग्गाको विषयमा आफूले सम्बन्धित निकायले खरिद गर्न मिल्ने भनेकाले किनेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।