नेपाली काङ्ग्रेसलाई बिष्णु पौडेलको चुनौती - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नेपाली काङ्ग्रेसलाई बिष्णु पौडेलको चुनौती



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधानको भावनाविपरीत बजेट आएको टिप्पणी गरिरहेका बेला महासचिव पौडेलले संविधानद्धारा निर्देशित भएरै बजेट आएको प्रष्ट्याएका हुन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चुनौती दिए।

लोककल्याणकारी राज्यको अवधारणाअनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नुपर्नेमा विरोध गरिएकोमा उनको आपत्ति छ।

महासचिव पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिव र पिछडिएका क्षेत्रको पक्षमा दृढतापूर्वक उभिएको दाबी पनि गरे। उनले बजेटले राष्ट्रिय गौरवका आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर मुलुकको उच्च आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको पनि बताए।

महासचिव पौडेलले बजेट कार्यान्वयन हुने गरी आएको दाबी पनि गरे। बजेटले उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको उनको भनाइ छ। महासचिव पौडेलले बजेट सबै क्षेत्रको विकास हुने गरी सन्तुलित ढंगले आएको पनि बताए।