विष्णु पौडेललाई कसले ठग्यो ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विष्णु पौडेललाई कसले ठग्यो ?



सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको समितिको सिफारिस अनुसार जग्गा किनबेचमा रोक लगाइसकेको बताए ।

मन्त्री बास्कोटाले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल ठगिएकोसमेत दाबी गरे ।

मन्त्री बास्कोटाले भने, ‘प्रम निवासको जग्गा रोक्का राख्ने निर्णय भइसकेको छ । विष्णु पौडेल त ठगिएका रहेछन् । जग्गा परेछ नक्कली ।’

‘सत्य तथ्य बुझेर सरकारले छोड्दैन’, नेकपाका महासचिव पौडेलले वक्तव्य जारी गरेको उल्लेख गर्दै मन्त्री बास्कोटाले भने, ‘दोषी देखिएको छ भने कोही उम्कन पाउँदैन । नेकपाको महासचिवले विज्ञप्तिमार्फत स्पष्ट पारिसक्नु भएको छ । उहाँ त फर्जी धन्दामा संलग्न भएको हैन नि । उहाँले थर्ड पार्टीबाट किन्नु भएको हो । उहाँ त ठगीमा पर्नु भएको हो नि ।’

जग्गा किनबेचमा नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएको समाचार बाहिरिएको थियो । उनले यसको जवाफ दिँदै आफुले कानुन अनुसार नै जग्गा खरिद गरेको स्पष्ट पारे ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद पौडेलले २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको बताएका थिए ।

‘सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु’, उनले भनेका थिए ।