सुकुम्बासीलाई फेरि लालपूर्जाको "ललिपप" देखाउँदै विष्णु पौडेल - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सुकुम्बासीलाई फेरि लालपूर्जाको “ललिपप” देखाउँदै विष्णु पौडेल



बुटवल- हरेक निर्वाचनमा लगातार सुकुम्वासीलाई लालपूर्जा दिने भन्दै चुनाव जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मतदातालाई फेरि यही आश्वासन् दिएका छन् ।

बिहीबार उनले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिन आफु तत्पर रहेको भन्दै यो काम पार्टीको प्राथमिकतामा रहेको समेत बताएका छन् । तर यस्तो भाषण गर्न थालेको करिव २० वर्ष भयो । यही मुद्दाका कारण पौडेलको आलोचना भइरहेका बेला उनले फेरि लालपूर्जा ललिपप देखाएका छन् ।

रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले बुटवलमा भएको चुनावी भेलामा बोल्दै सुकुम्वासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्ने बताएका हुन् । एमालेको ३ वर्ष लामो सरकारको पालामा सुकुम्बासीका नाममा राजनीति मात्रै गरेको एमालेले सुकुम्बासी आयोग गठन गरेपनि पार्टीका कार्यकर्ता भर्ती गर्ने साधन मात्र बनाएको थियो ।

यसै कारण एमाले र पौडेल दुवैको आलोचना भइरहेको छ भने यो मुद्दा जोडतोडका साथ उठ्ने देखिन्छ । यस्तैमा पौडेलले रुपन्देहीमा अव्यवस्थित, भूमिहीन दलित र सुकुम्बासी गरी करिब ७० हजार परिवार रहेका तथ्यांक प्रस्तुत गर्दै पौडेलले भने, ‘विगतमा पनि एमाले सरकारले सुकुम्वासी समस्या समाधानलाई उच्च प्राथमिकता दिएर काम गरेको हो तर लालपुर्जा बाँड्ने अन्तिम समयमा सरकार ढालियो । लगातार ३ वर्ष चलेको सरकारले काम गर्न नसकेपछि सरकार ढालिएको भन्दै पौडेल पन्छिने गरेका छन् ।

पौडेलको चर्को आलोचना हुन थालेपछि उनले चुनावको समयमा जथाभावी आरोप लगाउने र बद्नाम गर्ने कोशिस हुने भन्दै उनले कसैलाई आरोप नलगाई आफूले गरेका काम र एजेण्डा जनतामाझ लैजान एमाले कार्यकर्ताहरुलाई अपिल गरे । पौडेलले भने–‘राजनीतिलाई गालीगलौज र आरोप प्रत्यारोप भन्दा माथि उठाएर मर्यादित बनाऔं ।’