आफ्नो क्षेत्र निश्चित बनेपछि रुपन्देही ५ मा खटिए विष्णु पौडेल - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

आफ्नो क्षेत्र निश्चित बनेपछि रुपन्देही ५ मा खटिए विष्णु पौडेल



काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आफ्नो चुनावी क्षेत्र रुपन्देही २ छोडेर रुपन्देही क्षेत्र नम्बर ५ मा केन्द्रित भएका छन् । आगामी मंसीर ४ गतेको निर्वाचनका लागि आफ्ना प्रतिस्पर्धी दुई उम्मेदवारको उम्मेद्वारी खारेज भएपछि उनी रुपन्देही ५ मा खटिएका हुन् ।

पार्टीका दुई प्रभावशाली नेताको विवाद रहेको भनिएको उक्त क्षेत्रमा उनी बिहिबार उपस्थित भएर विवाद मिलाउन सफल भए । विष्णु पौडेलनिकट मानिने बासुदेव घिमिरे र शंकर पोखरेलनिकट मानिने खिमलाल भट्टराई दुवै जनाले उम्मेद्वारी दर्ता गरेपछि बढेको विवादले एमालेलाई असर पर्ने देखिएको थियो ।

बिहिबार सो क्षेत्रमा खटिएका पौडेलको सहजीकरणमा बासुदेव घिमिरेको चुनावी कमान्डर नै खिमलाल भट्टराईलाई बनाएपछि विवाद साम्य भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता भारत शाह उम्मेदवार छन् । एमालेमा विवाद देखिएपछि शाहलाई थप सहज हुने अनुमान गरिएको थियो । तर बिहिबार पौडेलको सहजीकरणमा विवाद साम्य भएपछि एमाले लयमा फर्कने आशा गरिएको छ ।

बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकिर समेत गरे । बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए ।

‘देशलाई संकटको भूमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले)को जित अपरिहार्य छ,’ उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छौं ।’

उपाध्यक्ष पौडेलले निर्वाचनमा उम्मेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुन सक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे ।