हार्ने डरले आफैंले पदसँग साटेको राजधानी फिर्ता ल्याउने झुटो आश्वासन दिँदै पौडेल - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हार्ने डरले आफैंले पदसँग साटेको राजधानी फिर्ता ल्याउने झुटो आश्वासन दिँदै पौडेल



बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानीकै विषयले चुनाव हार्नसक्ने देखेपछि फेरि लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीबाट रुपन्देहीको बुटवल फिर्ता ल्याउने झुटो आश्वासन दिन थालेका छन् ।

अर्थमन्त्रीसँग राजधानी साटेका पौडेललाई रुपन्देहीका मतदाताले राजधानीसँग पद कीन साटेको भन्दै फेसन गर्न थालेपछि उनले फिर्ता ल्याउने झुटो आश्वासन दिन थालेका हुन् ।

लगातार लुम्बिनी प्रदेशको राजधानी बुटवलमा बनाउँछु भनेर भाषण गर्ने उनै पौडेलले दाङका लागि मतदान गर्न बाध्य पारेको आरोप उनीमाथि छ । प्रदेशसभाले पारित गरेपछि देउखुरीमा राजधानीका लागि विभिन्न पूर्वाधारहरू धमाधम निर्माण भइरहेका बेला उनले सम्भव नै नभएको आश्वासन दिन थालेका छन् ।

प्रदेश राजधानी बन्ने भनेर देउखुरीमा कार्यालयहरू सार्ने तयारी भइसकेको छ । भवनहरू बनिरहेका छन् तर पौडेलले भने चुनावी मसला बनाउँदै राजधानी सार्ने कुरा गरिरहेका छन् ।

बुटवलमा आयोजित एक टेलिभिजनको बहसमा उपाध्यक्ष पौडेलले एउटा प्रदेशसभाबाट भएको निर्णयलाई अर्को प्रदेशसभाले उल्ट्याउन मिल्ने भन्दै राजधानी बुटवल ल्याएरै छाड्ने भन्दै चुनावी मसला बनाए । तर उनै पौडेलले राजधानी देउखुरीमा लैजान मौन समर्थन गरेका थिए । त्यसबापत उनलाई मन्त्री बनाइएको थियो ।

पौडेलले दाङ राजधानी सार्ने सन्दर्भमा आफूले प्रतिकार गरे पनि परिस्थितिले सम्भव नभएको समेत बताएका थिए । परिस्थितिले सम्भव नभएको कुरा अब कसरी सम्भव हुन्छ ? आगामी निर्वाचनबाट लुम्बिनीमा एमाले नेतृत्वको सरकार बनेको खण्डमा राजधानी बुटवल ल्याउने पौडेलको भनाइ छ ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले पनि पौडेलको आश्वासनमा हो मा हो मिलाएका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी मुकाम तोके पनि प्रदेश सरकारले अन्यत्र सारेको बताएका थिए । आगामी प्रदेश सरकारले बुटवललाई नै प्रदेशको राजधानी बनाउने भन्दै उनले पनि हो मा हो मिलाएका थिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले लुम्बिनी प्रदेशको राजधानी बनाउँछु भनेर दाबी गर्नेले नै दाङका लागि मतदान गर्न बाध्य पारेको आरोप लगाएका थिए ।