एमालेका पाँच उपाध्यक्षको अधिकार खोसियो - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

एमालेका पाँच उपाध्यक्षको अधिकार खोसियो



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्षहरूको अधिकार कटौटी हरेर वरिष्ठ उपाध्यक्षको अधिकार थपिएको छ ।

एमालेले केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरेको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा केही पदाधिकारीहरूको अधिकार थपघट गरिएको छ ।

विधानमा वरिष्ठ उपाध्यक्ष पदको कर्तव्य र अधिकारको व्यवस्था पनि गरिएको छ । अरू पदका अधिकार भने अघिल्लै विधानदेखि व्यवस्था यथावत् छ ।

एमालेमा नेताहरूको व्यवस्थापनका लागि प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको थियो । सोहीअनुसार दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित वरिष्ठ उपाध्यक्षको कर्तव्य र अधिकार विधानमा व्यवस्था गरिएको हो ।

एमालेमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष छन् । वरिष्ठ उपाध्यक्षलाई यसअघि उपाध्यक्षलाई तोकिएको जिम्मेवारी दिइएको छ ।

हालको उपाध्यक्षको अधिकारमा अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने अधिकार कटौती गरिएको छ । सो अधिकार अब वरिष्ठ उपाध्यक्षलाई दिइएको छ ।

वरिष्ठ उपाध्यक्षको अधिकार र कर्तव्य–
(क) अध्यक्षको काममा आवश्यक सहयोग गर्ने,
(ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने,
(ग) अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने,
(घ) केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने ।

हालको विधानमा उपाध्यक्षको अधिकार–
क) अध्यक्षको काममा आवश्यक सहयोग गर्ने,
(ख) अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने,
(ग) केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका कार्य गर्ने ।

सचिवहरूको अधिकारमा हेरफेर
त्यस्तै, सचिवहरूको अधिकार र कर्तव्यमा दुई बुँदा थप गरिएको छ । हालको विधानमा नवौँ महाधिवेशनले संशोधन गरेको विधानमा प्रत्यायोजित अधिकार संशोधन गरिएको हो ।

सचिवहरूले केन्द्रीय सचिवालय, पार्टी संगठन, मोर्चा संगठन, प्रचार तथा प्रकाशन र राजकीय मामिला गरी पाँच क्षेत्रको काम गर्ने भन्ने अधिकार हटाएर महासचिवको काममा आवश्यक सहयोग गर्ने, महासचिवले प्रत्यायोजन गरिएका कार्यहरू गर्ने भन्ने बुँदा राखिएको छ ।

सचिवको अधिकार र कर्तव्य–
(क) महासचिवको काममा आवश्यक सहयोग गर्ने,
(ख) महासचिवले प्रत्यायोजन गरेका कार्यहरू गर्ने,
(ग) केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने ।