सेन्ट मेरिज, सेन्ट जेभियरलगाएत २० निजी विद्यालयमाथि कारबाही - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सेन्ट मेरिज, सेन्ट जेभियरलगाएत २० निजी विद्यालयमाथि कारबाही



काठमाडौं- कमिसनको चक्करमा अनावश्यक नयाँ किताब किन्न लगाइ अभिभवाकलाई आर्थिक भार र विद्यार्थीलाई मानसिक तनाब दिने निजी विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले सेन्टमेरिज, सेन्ट जेभियरलगाएतका २० निजी विद्यालयहरुका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण सोधेको जनाएका छन्। भट्टराईले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी अभिभावकलाई थरिथरिका प्रकाशकको जथाभावी किताब किन्न लगाएकोले भन्दै स्कुलका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण सोधिएको उल्लेख गरेका छन्।

‘अनुगमनको क्रममा कतिपय विद्यालयहरुले कक्षा २, ३ र कक्षा ६ मा स्वीकृत नयाँ पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको साटाे पुरानो पाठ्यक्रम अनुसारकै पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरु प्रयोग गर्ने गरी विद्यार्थीलाई सूची उपलब्ध गराइएको पाइएको छ,’भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ। ‘सन्दर्भ सामग्री भनी अनावश्यक संख्यामा पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरु खरिद गर्न अभिभावकलाई बाध्या पारेको देखिएको छ। जानकारीमा आएका त्यस्ता विद्यालयका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण माग गरिसकिएको छ।’ थप लेखिएको छ, ‘तसर्थ नेपाल सरकारको स्वीकृत पाठ्यक्रमभन्दा बाहिरका तथा पुरानो पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरु प्रयोग नगर्न नगराउन समेत सूचित गरिएको छ।’

पाठ्यक्रम विकास केन्द्र निर्देशक भट्टराईले जारी गरेको निर्देशनमा निर्देशनकाे अवज्ञा गर्ने विद्यालय र प्रकाशकहरुलाई कानून अनुसार हदैसम्मको कारबाही हुने समेत चेतावनी दिएको छ। अझै पनि कतिपय पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरुमा मूल्य उल्लेख नभएको, पूरानो मूल्य सूचिमा कालोपोती स्टीकर टाँस गरी नयाँ मूल्य तोकेको, सरकारले निर्धारण गरेको भन्दा अधिक मूल्य उल्लेख गरेको समेत पाइएकोले त्यस्ता प्रकाशकहरुलाई कारबाहीको दायरामा ल्याइने उल्लेख छ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार स्वीकृत सामाजिक अध्ययन, मानव मूल्य शिक्षा लगाएत नेपाल कला संस्कृति र मौलिक पहिचानमूलक विषयको पठनपाठनका लागि माध्यम भाषा नेपाली अनिवार्य हुनु पर्ने ब्यवस्था अनुसार यस वर्ष कक्षा १,२,३,६, ११ र १२ मा उक्त विषयहरु नेपाली भाषा माध्यमबाटै पठनपाठन गराउन निर्देशन जारी गरेको छ। सरकारले स्वीकृत गरेको पछिलो पाठ्यक्रम अनुसार पाठ्यपुस्तकहरु, नेपालको नयाँ नक्सा समावेश भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री तथा पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरु भएनभएको हेरी मात्र प्रयोग गर्न अभिभावक, विद्यालय तथा विद्यार्थीसँग सचेत गराएको छ।

शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बैकुन्ठ अर्यालले पोखरामा रहेको सेन्टमेरिज स्कुलमालगाएत अन्य स्कुलहरुमा अनुगमन गरि प्रधानाध्यापहरुसँग स्पष्टीकरण सोधिएको जनाए।