आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने निधिको घोषणा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने निधिको घोषणा



काठमाडौं- १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको सभापति उठ्ने तयारी गरेका नेताविमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने घोषणा गरेका छन् । उनले आसन्न १४ औँ महाधिवेशनबाट आफू सभापति भएको खण्डमा पार्टीलाई बहुमत दिलाउने घोषणा गरेका हुन् ।

महाधिवेशन लक्षित गर्दै काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोल्दै उनले आफू कसैलाई हराउन सभापतिमा उठ्न नखोजेको बताए । उनले आफू कसैलाई पराजित या अक्षम घोषित गर्न सभापतिको मैदानमा नउत्रिएको बताएका छन्।

‘म कसैलाई पराजित गर्न, कसैलाई अक्षम घोषित गर्न, कसैलाई रिटायर गर्न सभापति बन्न खोजेको होइन’, निधिले भने, ‘नेपाली कांग्रेसलाई बलियो बनाउन, रुख छापलाई जनतासँग, मतदातासँग जोड्न सभापति बन्न लागेको हो।’

सम्पर्क कार्यालय उद्घाटन समारोहलाई बिहीबार दिउँसो सम्बोधनका क्रममा नेता निधिले आफू कसैलाई हराउनका लागि सभापतिको उम्मेदवार बन्न नलागेको स्पष्टीकरण दिएका छन्।

‘म कसैलाई हराउन सभापति बन्न खोजेको होइन। अर्को चुनावमा हामी रुख छापलाई जिताउन हामी सफल हुनेछौँ’, उनले भने, ‘म नेपाली कांग्रेसको सभापति हुने कुरा आगामी आम चुनावसँग जोडिएको छ। नेपाली कांग्रेसको रुख छापलाई बहुमत प्राप्त गराउनका लागि सबैलाई समेटेर भूमिकामा उत्रिनेछु।’