विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जन नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जन नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गर्दैमा विकास नहुने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’तर्फ लक्षित गर्दै प्रचण्डले क्राीन्तको नक्कल गर्नुभन्दा विकास गरेर देखाउनुपर्ने बताएकना हुन्। शनिबार प्रचण्ड निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने ‘विप्लव’ समूहका नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्दै उनले जनयुद्धको नक्कल गर्छु भन्दैमा सम्भव नभएको बताए। उनले भने, ‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन। २०/२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ।’ अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ सिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको दाबी गरे।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउने कै नेतृत्वमा कम्युनिस्ट एकता हुनुपर्ने उनले बताए। उनले भने, ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो।’ दुईचार दिन समय लिएपनि एमाले–माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाइ थियो।

शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिस्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालले बताए। त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको दाबी छ। ‘त्यतिखेर केही साथीहरूले यो उपलब्धीलाई पचाउन सकेनन् र उनीहरूलाई बचाउन पनि सकिएन’, उनले भने,‘पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो।

यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो। तर, हामी सफल भइएन। हाम्रा विरोधीहरू माओवादी आन्दोलनलाई टुक्रा टुक्रा बनाउन सफल भए। ’ माओवादीलाई फुटाएर परिवर्तनका मुद्दाहरूलाई बेवारिसे बनाउने खतरा पैदा भएको उनले बताए। अब सबै छरिएर रहेका माओवादीहरू ढिलोचाँडो मूल पार्टीमा फर्कने उनको दाबी थियो। विप्लव समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।