जाजरकोटको वडा कार्यालयमा विप्लबको आगजनी र तोडफोड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जाजरकोटको वडा कार्यालयमा विप्लबको आगजनी र तोडफोड



जाजरकोट । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड गरेको छ ।

विप्लव समूहले मङ्गलबार राति करीब १२ बजे तिर वडा कार्यालयमा तोडफोड गरेर कागजात, फर्निचर तथा प्राविधिक सामाग्री जलाएको हो । विप्लव समूहले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।

विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका छन् । उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको बताएका छन् ।

विप्लवको समूहका कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए । उनीहरुले कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका टेबुल १ थान, कुर्सी ३ थान, सोफा १ सेट, ल्यापटप १ थान र कम्प्यूटर १ थानमा तोडफोड र आगजनी गरेका थिए ।

पार्टीको केन्द्रीय नीति अनुसार तोडफोड गरिएको जिल्ला इन्चार्ज धमिलले बताएका छन् । चन्दा नदिएपछि तोडफोड भएको हुनसक्ने प्रहरीले प्रराम्भिक निष्कर्ष निकालेको छ । जाजरकोटका स्थानीय तहमा विप्लव समूहको चन्दा आतंक रहेको जनप्रतिनिधिहरुको गुनासो छ।