सरकारलाई विप्लवको चेतावनी: अब हातमा दही जमाएर बस्दैनौँ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सरकारलाई विप्लवको चेतावनी: अब हातमा दही जमाएर बस्दैनौँ



काठमाडौं- ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सहमति कार्यान्यवयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिएका हुन् । सहमति कार्यान्वयन नभएमा चुप लागेर नबस्ने भन्दै नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकेन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ ।’

सहमतिअनुसार पार्टीका कार्यकर्तालाई अहिलेसम्म रिहा नगरिएको, सरकार र राज्यका निकायहरू झुटा मुद्दा खारेज गर्न र राजबन्दी रिहा गर्ने सहमतिको तेस्रो बुँदा लागू गर्न प्रतिबद्ध नभएको पनि नेकपाले बताएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।