विप्लव समूह अस्त-व्यस्त, सङ्गठन ध्वस्त - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विप्लव समूह अस्त-व्यस्त, सङ्गठन ध्वस्त



काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य थिए, पदम राई । पार्टी निर्देशनअनुसार उनकै योजनामा ०७४ को संसदीय निर्वाचनको प्रचार–प्रसारका क्रममा अहिलेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि बम प्रहार भयो । घटनामा संलग्नविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्‍यो । उनी भूमिगत बने ।

पूर्व माओवादीबाट ०६४ को संविधानसभा निर्वाचनमा सभासद् तथा पूर्वमन्त्री समेत रहेका उनले विप्लवलाई भेट्न खोजे । तर, सफल भएनन् । करिब डेढ वर्षसम्म भेट्ने प्रयास निरन्तर चल्यो । सकेनन् । अन्ततः उनी पक्राउ परे ।

निराश भएका उनले अब हिरासतमै पार्टी परित्यागको योजना बनाए । सोही योजनाअनुसार जिल्ला अदालत भोजपुरमा ६० हजार रुपैयाँ धरौटी तिरे । हिरासतबाट रिहा भए । त्यसै दिनदेखि उनी सत्तारुढ नेकपा प्रवेशको तयारीमा लागे । अन्ततः उनी विप्लव नेतृत्वको नेकपा छाडेर सत्तारुढ नेकपामा औपचारिक तवरले नै प्रवेश गरे ।

मोहन कार्की ‘जीवन्त’ पनि पोलिटब्युरो सदस्य हुन् । पार्टी निर्देशनअनुसार नै उनी ०७४ को संसदीय निर्वाचनको विरोधमा उत्रिए । उनकै योजनामा ठाउँ–ठाउँमा विस्फोटका घटना भए । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका उनी लगत्तै भूमिगत बने । यसक्रममा उनले विप्लवलाई भेटेर पार्टीको आगामी योजना बुझ्न चाहे ।

तर, सबै विकल्प प्रयोग गर्दा पनि उनी सफल भएनन् । अन्ततः उनलाई पनि प्रहरीले पक्राउ गर्‍यो । लामो समय हिरासतमा रहेका उनी अदालतको आदेशपछि रिहा त भए, तर उनमा पुनः विप्लव समूहमा रहेर काम गर्ने जाँगर र्मयो । उनी पार्टी परित्याग गर्ने मनस्थितिमा पुगे । अन्ततः उनी पनि विप्लव नेकपा छाडेर सत्तारुढ नेकपामा प्रवेश गरे ।

सुरुवात उत्तेजनापूर्ण संघर्षबाट, निराशामा पुगेर अन्त्य

विप्लव नेतृत्वको नेकपाका दुई पोलिटब्युरो सदस्यको पृष्ठभूमि फरक छ । तर, दुवैको भोगाइ र त्यसबाट सिर्जित मनोदशा मात्र होइन, जन्मिएको परिणाम पनि एउटै छ ।

जसको सुरुवात उत्तेजनापूर्ण संघर्षबाट भएको छ, तर अन्त्य निराशामा पुगेर टुंगिएको छ । यही मनोदशाका कारण पछिल्ला दिन विप्लव नेतृत्वको नेकपा परित्याग गर्नेको लर्को लागेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार एक वर्षयता मात्रै विप्लव नेतृत्वको नेकपा छाड्नेको संख्या नौ सय ७३ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै उपत्यकाभित्र छन् । तथ्यांकअनुसार उपत्यकामा एक सय ९६ जनाले प्रतिबन्धित नेकपा छाडेका छन् । त्यसपछि सबैभन्दा धेरै छाड्नेमा सुदूरपश्चिम प्रदेशका छन् ।

एक वर्षको अवधिमा यो प्रदेशबाट एक सय ७८ जनाले पार्टी छाडेका छन् । प्रदेश ३ मा एक सय ६१, प्रदेश १ मा एक सय ३९, प्रदेश ५ मा एक सय ३१, कर्णालीमा ६८, गण्डकीमा ७८ र प्रदेश २ मा २४ जनाले पार्टी परित्याग गरेका छन् ।

पाँच वर्षमा तीन हजार दुई सय ९८ पक्राउ

नेपाल प्रहरीको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा विप्लव समूहका तीन हजार दुई सय ९८ पक्राउ परेका छन् । जसमध्ये एक सय ४१ जना अझै पुर्पक्षका लागि जेलमा छन् । ८४ जनाविरुद्ध अझै पनि सोधपुछ जारी छ ।

पक्राउमध्ये तीन जनाविरुद्ध मुद्दा दर्ता गर्न बाँकी छ । मुद्दा दर्ता भएकामध्ये दुई हजार सात सय १६ जना जेलबाट छुटिसकेका छन् । प्रहरीले तीन सय ५२ लाई सोधपुछपछि छाडेको थियो । बाँकी दुई हजार नौ सय ४२ विरुद्ध भने मुद्दा दर्ता गरेको थियो ।

५१ हतियारसहित आठ सय ६० राउन्ड गोली बरामद

प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धपछिको एक वर्षमा विप्लव समूहबाट एम–१६ मेसिन गनसहित विभिन्न प्रकृतिका ५१ हतियारसहित आठ सय ६० राउन्ड गोली बरामद भएको छ । बरामद हतियारमध्ये सबैभन्दा धेरै पेस्तोल छन् ।

प्रहरीका अनुसार विप्लव कार्यकर्ताबाट ३२ थान पेस्तोल, एक थान रिवल्भर, थ्रिनट थ्री राइफल दुई, भरुवा बन्दुक ६, एसएलआर एक, एलएमजी एक, एसएमजी सात र एम–१६ मेसिन गन एक थान बरामद भएको छ ।

बरामद गोलीमध्ये सबैभन्दा धेरै सर्ट मेसिन गन(एलमजी)को रहेको छ । प्रहरीका अनुसार मेसिन गनको मात्रै चार सय ५४ राउन्ड गोली बरामद भएको छ । पेस्तोलमा लाग्ने एक सय नौ राउन्ड र एसएलआरको गोली ९० राउन्ड बरामद भएको छ ।

यस्तो छ पार्टी छाड्ने कारण

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि भएको विस्फोटमा एक निहत्थाले ज्यान गुमाए । विप्लव नेकपाको ‘डाउन फल’ यही बिन्दुबाट सुरु भयो । घटनालगत्तै सरकारले नेकपाविरुद्ध प्रतिबन्ध लगायो । हेमन्तप्रकाश ओली सुदर्शन, माइला लामालगायत प्रभावशाली नेताहरू पक्राउ परे ।

त्यसपछि झस्किएका विप्लवले पार्टीको स्थायी कमिटी संरचना पुनर्गठन गरी हेडक्वार्टर शैलीमा रूपान्तरण गरे । घात गरेको भन्दै केन्द्रीय सदस्य देवीदत्त पाण्डे, भेषराज भुसाल, मकर गुरुङ, डम्बर विक, धनबहादुर महर्जन, नन्दबहादुर बुढा, कृष्ण धमला, टेकबहादुर केसी, कृष्ण अधिकारी, शंकर खड्का, खुमा सुवेदी, सन्तोषी विक, बाबुराम गजमेर, सम्झना घर्तीलाई कारबाही गरियो । यसपछि नै विप्लव समूहमा चरम असन्तुष्टि र निराशा छाएको नेताहरू बताउँछन् ।

एक वर्षमा इन्स्पेक्टरसहित ११ को मृत्यु

विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधिमा प्रतिबन्ध लागेयता एक प्रहरी निरीक्षकसहित ११ जनाको मृत्यु भइसकेको छ । जसमध्ये केहीको विस्फोटक पदार्थ बोक्ने क्रममा र केहीको भिडन्तमा मृत्यु भएको छ ।

प्रहरीका अनुसार भिडन्तमा मृत्यु हुनेमा भोजपुरका तीर्थराज घिमिरे, सर्लाहीका कुमार पौडेल र ओखलढुंगाका निरकुमार राई छन् । घिमिरेको ७ जेठ, पौडेलको ५ असार र राईको २५ असारमा मृत्यु भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

सर्लाहीका पौडेल भने ‘फेक इन्काउन्टर’ मा मारिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । त्यस्तै, बम पड्काउन नजानेर मृत्यु हुने अछामका विशाल शाहीसहित चार जना छन् ।

त्यसबाहेक जनकपुरमा राजेश्वर साह र आनन्द साह र अमिरकुमार दाहालको मृत्यु भएको छ । कैलालीको धनगढीमा एक र ललितपुर नख्खुस्थित एनसेल कार्यालय परिसरमा अर्का एकको मृत्यु भएको छ ।