प्रहरीलाई पक्राउ गर्न र ‘इन्काउन्टर’ गर्न विप्लवको आदेश - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

प्रहरीलाई पक्राउ गर्न र ‘इन्काउन्टर’ गर्न विप्लवको आदेश



कैलाली- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रहरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारले देशभर विप्लवका कार्यकर्ता पक्राउ गरिरहेको समयमा विप्लवको पार्टीले प्रहरीविरुद्ध नै ‘पक्राउ पुर्जी’ जारी गरेको हो ।

‘जनअदालत’ को नाममा नेकपाले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको छ।

तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ। जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न आदेश दिइएको पक्राउ पूर्जीसँगै टाँसिएको ‘चेतावनी पत्र’ मा भनिएको छ। 

‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि ‘इन्काउन्टर’ गर्न आदेश दिइएको छ’, चेतावनीपत्रमा उल्लेख छ।

कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ।

कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।’

अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पुर्जीमा उल्लेख छ।

फोटो :अन्नपुर्ण