विप्लवलाई झट्का - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लवलाई झट्का



विप्लव नेतृत्वको नेकपाका नेता डा. शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् ।

स्याङ्जा भीरकोट नगरपालिका—१,मा बस्दै आएका डाक्टर शेरबहादुर थापाले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै विप्लव समूहबाट अलग भएको घोषणा गरेका हुन् ।

२०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थापा तत्कालीन एमालेसँग आबद्ध हुँदै पछि प्रचण्डले नेतृत्व गरेको नेकपा एकीकृत माओवादीमा रहेर काम गर्दै आएका थिए । एमाओवादी फुटेपछि वैद्य नेतृत्व माओवादी हुँदै विप्लव समूहमा आबद्ध डाक्टर थापा स्याङ्जाका राम्रा कम्युनिष्ट नेतामध्ये एक हुन् ।

भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र नगर प्रवक्ता दिपेन्द्र केसीसहितको रोहबरमा थापाले प्रेस विज्ञप्ति जारी गर्दै थापाले राजीनामा घोषणा गरेका हुन् । शारीरिक रुपमा अशक्त भएका कारण राजीनामा दिन बाध्य भएको थापाले दाबी गरेका छन् । ‘अब स्वतन्त्र रहने छु’ थापाले प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र रहे पनि मानव जीवनको हक अधिकार सुनिश्चित गराउने सभ्यतामूलक कार्यमा लाग्ने छु ।’

थापाले नेकपा एमाओवादीको जिल्ला सदस्य, वैद्य नेतृत्वको माओवादीको जिल्ला सदस्य, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जिल्ला सचिव रहेर काम गरेका थिए । सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले जिल्लामा रहेका नेता कार्यकर्ता खोज्न थालेपछि थापा राजीनामा दिने पहिलो व्यक्ति हुन् ।