विप्लव प्रकरण : देउवाकाे एकाएक बोली किन फेरियो ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लव प्रकरण : देउवाकाे एकाएक बोली किन फेरियो ?



सरकारले विप्लवमाथि लगाएको प्रतिवन्ध प्रकरणमा नेपाली कांग्रेसका सभापति शेुबहादुर देउवाले आफ्नो बोली फेरेको देखिएको छ । सरकारले नेकपा नेतृत्वको विप्लव समूहमाथि प्रतिवन्ध लगाएको भोलिपल्ट प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समर्थन मात्र गरेनन्, कारबाही गर्न समेत माग गरेका थिए ।

२९ फागुनमा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो । उनीहरुमाथि प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नुपर्छ ।’

देउवाले प्रतिबन्धको समर्थन गरिरहँदा सत्तारुढ नेकपा नेताहरु सरकारको निर्णयबारे प्रतिक्रिया दिन हिचकिचाइरहेका थिए । विप्लवको हिंसात्मक गतिविधि गलत भएपनि पार्टीमाथि प्रतिबन्धको निर्णय हतारमा त भएन रु भन्ने धेरैको प्रश्न थियो ।

शनिबारसम्म आइपुग्दा देउवाको बोली फेरिएको छ । पाल्पामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विप्लव समूहलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने धारणा राखेका छन् ।

लगतै कांग्रेस प्रवक्ता शर्माले ‘अस्पष्टता र भ्रम निवाराणार्थ’ भन्दै विज्ञप्ति जारी गरेका छन्, जसमा विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गरिएको छ । राजनैतिक संवादबाटै सबैखालै विमतिको हल खोज्न सकिने भन्दै कांग्रेसले विप्लव समूहलाई हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन अपील गरेको छ ।

‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न’ प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’

देउवाले पाल्पामा ‘निषेधले होइन वार्ताले समाधान’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै शर्माको विज्ञप्तिमा समेत पार्टी सभापतिले अभिव्यक्ति सच्याएको संकेत गरेका छन् ।

बुधबार देउवाले प्रतिबन्धको समर्थन गरेको केही घन्टा नवित्दै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिबन्धको विरोध गरेका थिए । त्यसपछि अरु नेताहरुले पनि वार्तामार्फत समाधान खोज्न अपील गर्दै आएका थिए ।