विप्लवका गोप्य दस्तावेज प्रहरीले भेट्यायो - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

विप्लवका गोप्य दस्तावेज प्रहरीले भेट्यायो



दाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ । हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ ।

पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ । त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ । ‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ’, दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ । राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज ३० गते बिहान १ बजे राजपुर–४ मगराइना गाउँबाट पक्राउ परेका थिए । आजको अन्नपूर्णपोष्टमा खबर छ ।

सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना रहेको खुलेको छ । ‘खास गरेर प्रतिरक्षाका लागि यो संरचना तयार गर्दै रहेछन् भन्ने बुझिन्छ’, डीएसपी शाहले भने, ‘दस्तावेजमा सेनाको कुरा पटक–पटक उल्लेख गरिएको छ। सैन्य संरचनासँगै मंसिरसम्म चन्दा संकलन बढाउने योजना पनि फेला परेको छ ।’

प्रहरीसँग बोल्दैनन् विप्लवका नेता

दाङबाट पक्राउ परेका विप्लव नेतृत्वको पार्टीका नेताले प्रहरीमा बयान दिन अस्वीकार गरेका छन् । मध्यपश्चिम कमान्डर चन्द्रबहादु चन्द ‘वीरजङ’सहितका नेताले बयान दिन नमानेका हुन् । उनीहरू मौन रहने गरेको प्रवक्ता शाहले बताए । ‘हामीलाई केही थाहा छैन, सबै डायरी र दस्तावेजमा छ । त्यही हेर्नुहोस् भनेर जवाफ फर्काउँछन्’, उनले भने ।

यसबाट अनुसन्धानमा समस्या भएको उनले सुनाए । कसैले त नामसमेत गलत बताएको पाइएको छ । उनले भने, ‘दस्तावेज र डायरीबाटैै सूक्ष्म अनुसन्धान भइरहेको छ ।’ दस्तावेजमै कसैले केही कुरा नखोल्ने र खोले कारबाही उल्लेख भएकाले उनीहरू बोल्न नमानेको प्रहरीको अनुमान छ । संविधानमै नबोल्न पाउने अधिकार भएकाले बोल्न लगाउन झनै समस्या भएको प्रहरीले जनाएको छ ।