विप्लव समुहको बम आतंक - कहाँ कहाँ के के भयो ? - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

विप्लव समुहको बम आतंक – कहाँ कहाँ के के भयो ?



काठमाडौं । आइतबार बेलुका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका बम विस्फोटमा परी चारजनाको मृत्यु भएको छ । उपत्यकाका सुकेधारा, घट्टेकुलोमा ठूला विस्फोट भए । त्यहाँ भएका विस्फोटमा परी चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते छन् । सुकेधारामा भएको विस्फोटमा परी तीनजनाको र घट्टेकुलोमा भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

घाइतेहरुको ओम र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ओम अस्पतालमा रहेका ३ जनाको आईसीयूमा उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा उपचार गराइरहेका दुईजनाको पनि अवस्था गम्भीर रहेको छ । सुकेधारा, घट्टेकुलो, नागढुंगा, ग्वार्को, सातदोबाटो, लगनखेल बसपार्कलगायतका स्थानमा बम फेला परेको थियो । तीमध्ये तीनवटा ठाउँमा बम विस्फोट भए भने तीन ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको थियो ।

नागढुंगामा आफैंले बोकेको बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी दुईजना घाइते भएका छन् । मृत्यु हुनेहरुको पहिचान हुन नसकेको भए पनि बम बनाउने क्रममै विस्फोट भएको प्रहरी आशंका छ । दुबै ठाउँमा विस्फोट भएको बम कुकर बम भएको आशंका प्रहरीको छ ।

प्रहरी प्रवक्ता पोखरेलका अनुसार विस्फोटमा परी मृत्यु हुने सबै विप्लव समूहकै नेता कार्यकर्ता भएको प्रहरी आशंका छ । अनुसन्धानकै क्रममा रहेकाले पुष्टि भने हुन बाँकी छ । विस्फोटमा सुकेधारामा चारजना, अनामनगरमा एकजना र चन्द्रागिरी नगरपालिकामा दुईजना घाइते भएका हुन् ।

कोटेश्वरबाट कुकर र भाटासहित पक्राउ

काठमाडौंको कोटेश्वर नरेफाँटबाट नेत्रविक्रम चन्द विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका सातैजनालाई बानेश्वर प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट चारवटा कुकर, पर्चा पम्प्लेट, भाटासहित पक्राउ गरिएको बानेश्वर प्रहरीका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा डम्बरबहादुर तामाङ, चित्रकमल वली, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्लेलगायत छन् । डीआईजी श्रेष्ठले उनीहरुले सोमबार घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव समूहले मसाल जुलुस निकाल्ने तयारी गरेको थियो ।
विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

सातदोबाटो, लगनखेल र ग्वार्कोमा पनि बम फेला

ललितपुरको सातदोबाटो लगनखेल र ग्वार्कोमा पनि बम फेला परेको छ । सातदोबाटोको स्वीमिङ पुल नजिक र गुण सिनेमा हल नजिकै बम फेला परेको हो । लगनखेल बसपार्क नजिकै पनि कुकर बम फेला परेको थियो । ती बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो ।

नागढुंगामा कुकर बम विस्फोट

काठमाडौंको नागढुंगामा पनि विस्फोट भएको छ । नागढुंगा इटाभट्टानजिकै मोटरसाइकलमा रहेका विप्लव समूहका कार्यकर्ताले बोकेका बम विस्फोट भएको थियो । विस्फोटबाट उनीहरुकै कार्यकर्ता घाइते भएको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

बन्द आतंक मच्चाउन बम विष्फोट !

विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको थियो । त्यसको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न स्थानमा बम विस्फोट भएको थियो । अनामनगरमा बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता पोखरेलले घट्टेकुलोमा विप्लव समूहका दस्तावेज भेटिएको र घाइते पनि विप्लव समुहकै कार्यकर्ता भएको बताए । ज्यान गुमाउने पनि विप्लव समुहकै विद्यार्थी नेता भएको बताइएको छ ।

पछिल्लो समय विप्लव समूहका गतिविधि सुस्ताएको बेला राजधानीमा आइतबार भएको विस्फोटले उपत्यकाको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको छ । सुकेधारामा साँझ ५ बजे र घट्टकुलोमा ४ बजेर १० मिनेटको आसपासमा विस्फोट भएको बताइएको छ । प्रहरी अधिकारीका अनुसार बम बनाउँदा बनाउँदै विष्फोट भएको आशंका गरिएको छ ।

पोखरेलले प्रहरीले उपत्यकाको सुरक्षा चेकजाँचमा कडाइ गरिएको बताए । ठाउँ–ठाउँमा सर्च, शंकास्पद स्थानमा छापा, सूचना संकलन, प्राप्त प्रमाणको विश्लेषण र नाकामा शीलबन्दी गरिएको पोखरेलले बताए । घटनामा संलग्नलाई कानुनी दायरमा ल्याउन प्रहरी नचुक्ने बताउँदै नागरिकलाई नआत्तिन पोखरेलले आग्रह गरे । ‘‘नागरिकको सुरक्षाका लागि प्रहरी सदैव तत्पर छ । विशेष सुरक्षा र निगरानी बढाएका छौं,’’ पोखरेलले भने ।’’

विप्लव समूहले भने घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि विप्लव समूहले ललितपुरमा रहेको एनसेल मुख्यालयमा गरेको विष्फोटमा एकजनाको ज्यान गएको थियो ।