चुनावको मुखमा विना मगरको बिजोग
पूर्वमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विना मगरलाई निर्वाचनको मुखैमा धक्का लागेको छ ।
उनको क्षेत्रका दर्जनौ माओवादी कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । हाल प्रतिनिधिसभा सदस्य रहेकी मगरको निर्वाचन क्षेत्र रहेको कंचनपुर १ का दर्जनौ माओवादी कार्यकर्ताहरु बुधबार एमाले प्रवेश गरेका हुन् ।
पार्टी छोड्नेहरूले माओवादीभित्र नातावाद, कृपावाद हावि भएको र कार्यकर्ताको मुल्यांकन नभएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।
माओवादी छोडेर एमाले प्रवेश गर्नेमा पूर्व सांसद दुर्गा खुना, दोस्रो संविधानसभामा कंचनपुर क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका यसै क्षेत्रका नेता मोहन गरी माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश स्कुल बिभाग प्रमुख रामबहादुर गुरुङ, बेल्डाडी गाउंपालिकाकी उपाध्यक्षकी उम्मेदवार एवंम् प्रदेश कमिटी सदस्य कल्पना गिरी र सीता डंगौरालगायत छन् ।
त्यसैगरी माओवादी केन्द्रसम्बन्ध कर्मचारी संगठनको केन्द्रीय उपाध्यक्ष शंकरदत्त जोशी,मोहन पन्त,डम्बर बिष्ट,घांसीराम रानालगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एमालेमा प्रवेश गराएका हुन् ।
माओवादीबाट यसअघि लेखा आयोगको सदस्य यज्ञ कंडेल स्थानीय तहको निर्वाचनअघि एमालेमा प्रवेश गरेका थिए । गिरी र कंडेल यसअघि मगरका विश्वासपात्र हुन् ।
त्यसभन्दा पहिले यसै क्षेत्रका माओवादी नेताहरु जिल्ला अध्यक्ष बिरबहादुर थापा,रमेश थापा, बलदेव बुडाल,पदम पुजारा,राधाकृष्ण जोशी र मोहन बढुलगायत पनि नेकपा विभाजनपछि एमालेमै सक्रिय छन् । कंचनपुरमा मगरकै कारण माओवादी कार्यकर्ताले पार्टी छोडेको आरोप छ ।
उनको कार्यशैलीका कारण मगरको आलोचना हुंदै आएको छ । मगर यसै क्षेत्रबाट निर्वाचित भएर ३ वर्ष मन्त्री बन्दा पनि क्षेत्रको विकास गर्न नसकेको र गाउं नफर्केको भन्दै यस क्षेत्रका स्थानीय समेत उनिसंग रुष्ट छन् ।