मन्त्री बिनाको योजना: ९२ प्रतिशतलाई स्वच्छ पानी - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

मन्त्री बिनाको योजना: ९२ प्रतिशतलाई स्वच्छ पानी



काठमाडौं । खानेपानी मन्त्रालयले आउँदो वर्षसम्म ९२ प्रतिशतलाई स्वच्छ खानेपानी सुविधा पुर्याउने योजना बनाएको छ ।

चार वर्षभित्र शत प्रतिशत बासिन्दालाई स्वच्छ पानी उपलब्ध गराउने समेत मन्त्रालयको योजना छ । मन्त्रालयको योजना, आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार सम्झौता भएको छ ।

मन्त्री र सचिवबीच भूकम्पबाट क्षतिग्रस्त ९८ खानेपानी आयोजनाको पुनर्निर्माण गर्ने, र १३ सय ६८ आयोजना खानेपानी सेवा विस्तार तथा पुनस्थापना गर्ने सम्झौता भएको छ । १५ क्रमागत तथा ४१ नयाँ गुणस्तर सुधारका आयोजनाको कार्यान्वयन गर्ने संझौतामा उल्लेख छ । संझौतामा थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य यसै चालु आर्थिक वर्षभित्र गर्ने प्रतिवद्धता जनाइएको छ ।

पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढी लगायत ठाउँमा खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ । चालु आर्थिक वर्षभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । नेपाललाई खुला दिसा मुक्त राष्ट्र बनाई पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिवद्धता छ ।

मन्त्री मगरले सचिवसँग भएको सम्झौतालाई ‘जनतासँग गरिएको प्रतिवद्धता’को संज्ञा दीइन् । ‘यो सम्झौता जनताका अगाडि काम गर्छु भनेर गरिएको प्रतिवद्धता हो, उनले भनिन, ‘ हामीले चालु आर्थिक वर्षभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौति छ । त्यसैले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात् गरी सरकारको कार्यक्रम योजनाहरु कार्यान्वयन गर्न तिर लागौं ।’

सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्य पूरा गर्ने तर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताए ।