बिना मगरद्वारा कञ्चनपुर जिल्लाको विद्युत समस्याबारे ध्यानाकर्षण, महानिर्देशक कुलमान घिसिङद्वारा छ बुँदे निर्देशन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बिना मगरद्वारा कञ्चनपुर जिल्लाको विद्युत समस्याबारे ध्यानाकर्षण, महानिर्देशक कुलमान घिसिङद्वारा छ बुँदे निर्देशन



काठमाडौं ।।  कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रका जनताले भोग्नु परेको विद्युत सेवाको समस्या हल गर्न सांसद बिना मगरले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई माग पत्र प्रस्तुत गर्नु भएको छ ।

महानिर्देशक घिसिङको कार्यकक्षमा पुगेर सांसद बिना मगर नेतृत्वको टोलीले बिभिन्न ६ बुँदे मागपत्र पेश गरेको हो ।
ज्ञापन पत्रमा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा विद्युत सेवाको बिस्तार भएपनि गुणस्तरीय सेवा प्रवाह हुन नसक्दा स्थानीय जनताले समस्या भोग्नु परेको समस्या हल गर्न अनुरोध गरिएको छ ।
जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेल्डाँडी गाउँपालिकामासब स्टेशनको अभाव, ट्रान्सफर्मर जडान हुन नसक्न, अनियमित विद्युत आपूर्ति तथा न्यून भोल्टेजको समस्याले गर्दा घरायसी, कृषि प्रयोजन तथा उद्योगहरुमा गुणस्तरीइ विद्युत सेवा उपयोग गर्न नसकिएको भन्दै ज्ञापन पत्रमा कृषि, काष्ठ, डिष्टिलरी, स्वास्थ्यलगायतका सेवा र उद्योगहरु सञ्चालनमा कठिनाई देखिएले भोल्टेज लगायतका समस्या हल गर्न माग गरिएको छ ।
यसैगरी मागपत्रमा चारवटै स्थानीय तहका ४० हजार बढी घरधुरीले विद्युत महसुल सेवा बेलौरीमा रहेको एउटा मात्रै काउण्टरबाट बुझाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै चारवटै स्थानीय तहमा महसुल काउण्टर स्थापना गर्न माग गरिएको छ । “महसुल काउण्टर पायक पर्ने स्थानमा नहुँदा वर्षायाम खोला र नदीहरुमा आउने बाढीको त्रास झेलेर ज्यान जोखिममा राखेर महसुल बुझाउनुपर्ने अवस्था रहेको छ ।” मागपत्रमा भनिएको छ ।

मागपत्रमाथि छलफलपछि महानिर्देशक कुलमान घिसिङले बैठकस्थलबाटै प्रदेश नम्बर ७ को क्षेत्रीय निर्देशनालय अतरियाका प्रमुख तारा शर्मालाई फोन गरी तत्काल समस्या समाधानका लागि निर्देशन दिनु भयो ।

चारवटै स्थानीय तहमा काउण्टर स्थापना गर्न पहल गर्ने, तत्कालका बेल्डाँडी, पुनर्वास र लालझाडीमा घुम्ती महसुल काउण्टर सञ्चालन गर्ने, भोल्टेजको समस्या हल गर्न आवश्यकता अनुसार तत्काल नै ट्रान्सफर्मर जडान गर्ने, दीर्घकालिनरुपमा चारवटै स्थनीय तहलाई पायक पर्ने स्थानमा सब स्टेशन स्थापनाका लागि प्रस्ताव तयार गर्ने, उक्त क्षेत्रका सबै लाइनलाई थ्री फेजमा अपग्रेड गर्ने काम अगाडि बढाउन महानिर्देशक घिसिङले निर्देशन दिनुभयो । सब स्टेशनलगायतका सबै कामहरु यसै चैत मसान्तभित्र नै पुरा गर्न वहाँले निर्देशन दिनुभयो ।

प्रस्तुत गरिएका मागहरु
१. हाल बेलौरी बजारमा मात्र रहेको विद्युत महसुल काउण्टरलाई बिस्तार गरी अन्य तीनवटा स्थानीय तह (बेल्डाँडी, पुनर्वास र लालझाडी) मा समेत बिस्तार गरियोस् ।
२. विद्युत भोल्टेजको समस्या हल गर्न पुनर्वासमा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा सब स्टेशन तत्काल निर्माण गरियोस् । साथै विद्युतको खपत बढी हुने स्थानहरु तथा स्वास्थ्य, शिक्षालगायतका अत्यावश्यक सेवा क्षेत्र नजिक ट्रान्सफर्मर जडान गरी भोल्टेज र नियमितताको समस्या हल गरियोस् ।
३. यस क्षेत्रमा बिभिन्न कृषिजन्य उपकरण समेत सञ्चालन गर्न तथा अन्य उद्योगहरुलाई आवश्यकता परे अनुसार हालको प्रसारणलाई चार फेजको लाइनमा अपग्रेड गरियोस् ।
४. कञ्चनपुर–बेलौरी मार्ग र हुलाकी राजमार्ग निर्माण कार्य चलिरहेकोले उक्त सडक खण्डमा पर्ने विद्युत पोलहरु सुरक्षितरुपमा स्थानान्तरण गरियोस् ।
५. कृषि प्रयोजनका लागि खपत हुने विद्युतको महसुलमा सब्सिडी तथा अनुदान÷छूटको नीतिगत व्यवस्था गरियोस् ।
६. विद्युत महसुल तिर्न नसक्ने गरिब, सुकुम्बासी जनताका लागि निशुल्क विद्युत उपयोग गर्न पाउने गरी नीतिगत व्यवस्था लागि समेत पहल गरियोस् ।