सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विक्रम पाण्डेले पाए सफाइ - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विक्रम पाण्डेले पाए सफाइ



काठमाडौं- सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यो मुद्दामा पाण्डे एक्लैलाई सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो। आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार बिगो माग गरेको छ।

आयोजनाको निर्माण जिम्मा पाण्डेको स्वामित्वको कालिका कन्स्ट्रक्सनले पाएको थियो।

आयोजना प्रमुख, सिचाइँ विभागका इन्जिनियरहरू, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित २१ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा हालेको थियो।

यसअघि थुनछेकको बहसका क्रममा विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो।

त्यसबेला अख्तियारको फरार सूचीमा रहेका पाण्डे २०७५ माघ २ गते विशेष अदालतमा उपस्थित भएका थिए।

विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनीसँग ४ करोड धरौटी माग्ने निर्णय गर्‍यो। त्यसपछि उक्त धरौटी बुझाएर उनी छुटेका थिए।

अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो।

सिक्टामा पाण्डे प्रमुख रहेको सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिचाइँ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माण ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो।