विकास बजेटमा आर्थिक मितव्ययिता कायम गर्न गाउँपालिकाद्वारा अभिमूखीकरण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विकास बजेटमा आर्थिक मितव्ययिता कायम गर्न गाउँपालिकाद्वारा अभिमूखीकरण



गोविन्द बीसी / बौनिया,कैैैलाली । 
बिकास बजेटमा आर्थिक मितव्ययिता एवं पारदर्शिता कायम गर्न गाउँपालिकाद्वारा अभिमूखीकरण गर्न थालिएको छ ।

स्थानीय तहमा उपभोक्ता समिति मार्फत् निर्माण गरिने योजनामा अनियमितता तथा ढिलासुस्ती बढ्ने गरेको जनगुनासो आइरहेका बेला आर्थिक पारदर्शिता कायम गर्न अभिमूखीकरण गर्न थालिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिकाले जनप्रतिनिधि, वडासचिव, उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवसंग अन्तरक्रिया गरेको जनाएको छ ।

वडास्तरमा गठन गरिएका निर्माण योजनाको मालसामान खरिद प्रक्रियामा निर्माण उपभोक्ता समितिलाई सहज होस् भन्ने उद्देश्यले सहजीकरण तथा अन्तरक्रिया गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा योजना सम्पन्न गर्न लाग्ने अवधि, प्रयोग गरिने साधन तथा औजार, मालसामान खरिद गर्दा अपनाउनुपर्ने प्रक्रिया, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, विनियोजित बजेट रकम, प्राविधिक लागत इस्टिमेट, लागत जनसहभागिता, प्राबिधिक मूल्यांकन तथा चेकजाँच, प्यान र भ्याट बिल सम्बन्धि जानकारी र कर प्रक्रियाका सम्बन्धि विषयमा सहजीकरण गरिएको कार्कीले बताए ।

यसअघि आइतबार गाउँपालिकाको वडा नम्बर ६ सोमबार वडा नम्बर-१ र मंगलबार वडा नम्बर-३ मा कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार वडा नम्बर-५ मा कार्यक्रम गरिने कार्कीले जानकारी दिए ।

विनियोजित बजेट योजनाको सम्झौता प्रक्रिया सकिएको प्रारम्भिक चरणमा नै गाउँपालिकाले मालसामान खरिद प्रक्रियामा अवलम्बन गर्नुपर्ने प्रक्रियाका बारेमा प्रशिक्षण दिएको हो ।

गाउँपालिका अन्तर्गतका ६ वटै वडामा १-१ दिन कार्यक्रम गरिने प्रशासकीय अधिकृत कार्कीले बताए । मंसिर २३ गते देखि सुरु गरिएको अन्तरक्रिया कार्यक्रम २८ गते सकिनेछ ।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा १० लाख भन्दा कम रकमका १ सय ५० बढी आयोजना रहेका छन् । उक्त सबै योजना निर्माण उपभोक्ता समिति मार्फत् निर्माण सम्पन्न हुनेछन् ।

वडाका विभिन्न गाउँटोल स्तरबाट छनोट गरिएका उक्त योजनाको निर्माण गर्दा ढिलासुस्ती र बजेट रकम दुरुपयोग नहोस् भन्ने उद्देश्यले तालिम दिएको बताइएको छ ।
तालिमको सहजीकरण बर्दगोरिया गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, लेखाअधिकृत कमलराज जोशी, इन्जिनियर अर्जुन मल्ल र सब-इन्जिनियर भरत बिष्टले गरेका थिए ।