मोटोपनले बढाउँदैछ मधुमेह - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मोटोपनले बढाउँदैछ मधुमेह



– विकलचन्द्र आचार्य

संसारभर मधुमेहका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ। हालै प्रकाशित तथ्याङ्कअनुसार बेलायतमा गत दशकमा मात्रै बाह्र लाख मान्छेहरू मधुमेहले पीडित भएका थिए र अरू करिब छ लाख मानिसहरू मधुमेह भएको छ भन्ने थाहै नपाई त्यसै बाँचिरहेका अनुमान गरिएको छ। यहि अनुरूपमा मधुमेह बढ्दै गएमा बेलायतको स्वास्थ्य सेवा नै एकदिन टाट पल्टने कुरा विज्ञहरूले जनाएका छन्। बेलायतमा मात्रै वर्षको दस अर्ब पाउण्ड मधुमेहका लागि खर्च गरिन्छ। त्यसैले मधुमेहको उपचारका साथै रोकथाम गर्नु महत्त्वपूर्ण हो।

यो  तथ्याङ्क अनुसार नब्बे प्रतिशत दोस्रो किसिम (टाइप- २) मधुमेहका  बिरामीहरू  छन्।  यसको मुख्य कारण धेरै या अत्यधिक मोटोपन र कम  क्रियाशील जीवनयापन हुन आउँछ। अफ्रिकन, क्यारेबियन र दक्षिण एसियाका केही जातीय समुदायका मानिसहरूमा मधुमेह अरू बढी देखिन्छ।

मधुमे के हो ?

जब रगतमा ग्लुकोज (चिनी) को लेबल धेरै बढी हुन्छ तब मधुमेह हुन्छ। यस अवस्थामा शरीरले राम्रोसँग ग्लुकोज प्रयोग गर्न  सक्तैन। शरीरले ग्लुकोजलाई शक्तिमा बदल्ने काम जे जति गर्नुपर्ने हो त्यति गर्न नसकेको अवस्थामा मधुमेह देखिन्छ।

जब हाम्रो शरीरले कार्बोहाइड्रेडयुक्त खानाहरू जस्तै रोटी, भात, आलु र चिनी र अरू गुलियो खानाहरू पचाउँछ तब ग्लुकोज उत्पादन हुन्छ। कलेजोले पनि ग्लुकोज बनाउँदछ। त्यसलाई रगतले सबै कोषहरूमा  लैजान्छ। इन्सुलिन भनिने हर्मोनले ग्लुकोजलाई कोषहरूमा पठाउन  मद्दत गर्छ जहाँ शरीरले ग्लुकोजलाई इन्धनका रूपमा प्रयोग गर्दछ। इन्सुलिन प्यानक्रियाज नामको ग्रन्थिमा बन्दछ। प्यानक्रियाज अमाशय तलतिर रहने ठूलो आकारको अन्तस्रावी ग्रन्थि हो।

पहिलो किसिम( टाइप १) मधुमेह प्राय:  बच्चाहरू र कम उमेरका प्रौढहरूमा  विकसित हुन्छ। यस्तो मधुमेह लागेमा शरीरमा इन्सुलिन उत्पादन हुँदैन।

दोस्रो किसिम(टाइप २)को मधुमेह लागेमा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुँदैन अथवा कोषको इन्सुलिन प्रयोग गर्ने सामर्थ्य हराउँछ। मधुमेहको विकास विस्तार विस्तार ४० वर्षको उमेरपछि  धेरै हुने  देखिन्छ।  तर आजभोलि कलिलै उमेरमा पनि धेरै मानिसहरू  मधुमेहबाट पीडित हुने क्रम जारी छ।

मोटोपनले किन स्वास्थ्यमा जोखिम हुन्छ ?

स्याउको जस्तो बनोटको शरीरले स्वास्थ्यमा धेरै असर  पुऱ्याउने कुरा बिभिन्न अनुसन्धानले जनाएका छन्। मधुमेह अनि मुटुरोगको जोखिमको लागि पेटमा लागेको बोसो नाप्‍नु जरुरी भएको कुरा अनुसन्धानले स्पष्ट पारेको छ। पेटमा हुने दुई प्रकारको बोसो सब्कुटेनियस फ्याट र भिस्सेरियल फ्याटको तुलना गर्न सकिन्छ । सब्कुटेनियस फ्याट छालाको ठीक मुनि हुने बोसो हो भने भिस्सेरियल फ्याट पेटको भित्री गहिराइमा हुने हो जहाँ शरीरका मुख्य अङ्गहरू रहन्छन्।  अनुसन्धानले भित्री गहिराइमा हुने भिस्सेरियल फ्याट बढी हानिकारक हुन्छ र यसले मुटुरोग र मधुमेह  हुने सम्भावना अधिक रहन्छ।

मोटो वा अधिक  मोटो मानिसको स्वास्थ्यको जोखिम हरेक बर्ष बढ्दो छ । मेडिकल हिसाबले मोटो शरीरले धेरै जोखिम बोक्ने कुरा प्रष्ट पारेको  छ । त्यसैले मधुमेह या  मुटुरोगको जोखिम जाँच्दा बीएमआई हेर्नु भन्दा पेट कति ठूलो छ, त्यही अनुरूप निर्क्यौल गर्न सुझाव दिइएको छ।

पहिला बोसो निष्क्रिय हुन्छ र यो  शक्तिको भण्डार मात्र हो भन्ने ठानिन्थ्यो। तर बोसोका कोषहरू जैविक रूपमा सक्रिय रहने हालैका अनुसन्धानहरूले देखाएका छन्। यिनीहरूले शरीरमा हुने हर्मोन र अन्य रसायनहरूसँग मिलेर शरीरका प्राय: सबै अङ्गहरूलाई असर गर्दछन्।

जब हाम्रो तौल सामान्य रहन्छ, तब यी हर्मोन र रसायनहरूले शरीर स्वस्थ्य राख्दछन्। यिनीहरूले भोक नियन्त्रण, ऊर्जा वृद्धि, इन्सुलिनको व्यवसाथा गरी मधुमेहबाट बचाउने जस्ता कामहरू गर्छन्।

जब हाम्रो तौल बढी हुन्छ, चाहिनेभन्दा बढी फ्याट सेलहरू शरीरमा हुन्छन् र यी सेलहरू ठूला हुन्छन्। यी ठूला सेलहरूले शरीरलाई चाहिने भन्दा बढी हर्मोन र रसायनहरू निकाल्छन्। पेट वरिपरि हुने भिसेरेल फ्याटले  झन् धेरै निकाल्छ। यी चाहिनेभन्दा धेरै बढी रसायनहरूले मुटुरोग, मधुमेह, स्ट्रोक, केही क्यान्सरलगायत स्वास्थ्यमा धेरै जोखिम पार्दछन्।

पेटको बेसोमा हुने एक किसिमको अग्रगामी  एन्जियोटेनसिन एक किसिमको प्रोटिन हो  जसले रक्त कोषिकाहरूमा रगत ओहोरदोहोर गर्न व्यवधान पुऱ्याउँछ। उक्त कारणले रक्तचाप बढ्ने गर्छ। रेटिनो बाइन्डिङ  ४नामको अर्को प्रोटिन इन्सुलिन प्रतिरोधी हुन्छ जसका कारणले आर्टरीहरू बन्द भई हृदयाघात, स्ट्रोक हुने जोखिम बढ्छ।

पेटको बोसोमा पाइने अरू प्रोटिनहरूले थोरै  सुन्निने गराउन सक्छन् जसले मुटुरोग, मधुमेह र क्यान्सरजस्ता अरू रोगहरू हुने जोखिम हुन्छ।

भिस्सेरल फ्याट क्यान्सरसँग पनि जोडिएको छ। महिनावारी सकिएपछि  महिलाहरूको पाठेघरले एस्ट्रोजन हार्मोन  बनाउन छोड्छ र फ्याट तन्तुहरू यो हर्मोनको मुख्य स्रोत बन्छन्। बढी मोटा महिलाहरूका फ्याट तन्तुहरू एस्ट्रोजन निकाल्न व्यस्त हुन्छन्। यस्तो फ्याट हर्मोनाहरूले बढी भएमा स्तन क्यान्सर हुने जोखिम बढ्छ। महिला-पुरुष दुबैलाई धेरै ठूलो पेट भएपछि कोलोरेक्टर क्यान्सर हुने सम्भावना पनि रहन्छ।

पेटमा धेरै हुने बोसोले दिमागलाई पनि असर गर्न सक्छ। सन् २००५ मा गरिएको वृद्ध मानिसहरू माथिको अध्ययनले ठूलो पेट हुनेको स्मरण शक्ति र भाषामा ह्रास भएको पाइएको छ। यसले डिमेन्सिया र आस्थ्माको जोखिम पनि बढाउँछ।

मधुमेको जोखिमलाई कसरी कम गर्ने ?

शरीरका अङ्गहरू जस्तै आँखा, मृगौला, पैतालाको नोक्सानलाई रोकथाम गर्न रगतको ग्लुकोज लेबल र रक्तचाप ठीक गरी नियन्त्रण गर्नु जरुरी छ। मधुमेहले कोरोनरी मुटुरोग लाग्‍ने सम्भावनालाई धेरै बढाउँछ। मधुमेहको मुख्य जोखिमका तत्त्वहरूको राम्रो उपचार गरी जीवनशैली परिवर्तन गरेर यो रोग नियन्त्रण गर्न सकिन्छ। निम्न कुराहरूलाई मनन गरौ :

  • मोटोपन हटाऔँ, क्रियाशील बनौँ : स्वस्थ्य(उचित) तौल कायम गर्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउँछ, यसले कोलेस्ट्रोल घटाउँछ र  मधुमेहको हुने जोखिमलाई कम गराउँछ। आफ्नो उचाइ अनुरूपको तौल हुनुपर्दछ, पेटवरिपरि ३४” भन्दा कम भए जोखिम घट्न सक्छ। शारीरिक निष्क्रियता मुटु रोग लाग्‍ने प्रमुख जोखिम हो  र  दोस्रो किसिमको मधुमेह लाग्‍ने प्रमुख कारण पनि हो। तपाईँलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईँले खाने औषधीको परिमाण कम गर्न मद्दत गर्दछ। क्रियाशील हुँदा विस्तारै रफ्तार बढाएर लैजानु पर्छ र कम्तीमा हप्ताको पाँच दिन आधा घण्टाको ठीक्कको व्यायाम गर्नुपर्दछ। मधुमेह भएको व्यक्तिले व्यायाम गर्दा जहिले पनि कार्वोहाइड्रेड जस्तै ग्लुकोज ट्याबलेट या चिनीयुक्त पेय पदार्थ साथमा राख्‍नुपर्दछ। किनभने यदि ग्लुकोज लेबल कम भयो ती पदार्थ खान/पिउन सकिन्छ। यदि तपाईँको तौल बढी छ र कम गर्नुभयो भने यसले रक्तचाप कम गर्न, कोलेस्ट्रोलको लेबल घटाउन र मधुमेह नियन्त्रण गर्न मद्दत गर्दछ।
  • थोरै खाऔँ तर राम्रोसँग खाऔ: एकै समयमा छाक नछुटाई स्वस्थ्यकर खाना खानु महत्त्वपूर्ण कुरा हो। कस्तो र कति खाने भन्नेकुराको जानकारी सबैलाई हुन आवश्यक छ। राम्रो खानाले वर्तमान र  भविष्यको स्वास्थ्यमा ठूलो असर पार्दछ। यसले आत्मघाती मुटुरोग र  क्यान्सरजस्ता रोगहरूको जोखिमबाट बचाउन सक्छ। यसले तौल वढ्न पनि कम गर्दछ किनभने तौल धेरै बढीको मतलब मधुमेह, बाथ र  उच्च रक्तचाप हुने सम्भावना बढ्छ। फलफूल, सब्जी र  स्वस्थ्य खानपिनले मधुमेहको जोखिमलाई कम गर्छ। दिनको घटीमा ५ भाग विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ।
  • धूमपान छोडौँ: धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउँछ। धूमपान त्याग्‍नु नै स्वास्थ सुधार्नु हो। यसका लागि आफ्नो इच्छा शक्ति महत्त्वपूर्ण कुरा हो।
  • कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल नियन्त्रण गरौँ: स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ। मधुमेह भएको मान्छेको कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल बढी हुने गर्दछ। त्यसैले समयमा रगत जँचाई आफ्नो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नम्बर थाहा पाइरहनु पर्दछ र त्यही अनुरूप जीवनशैली बदल्नु पर्दछ।
  • उच्च रक्तचाप नियन्त्रण गरौँ: मधुमेह भएको मान्छेलाई प्राय: उच्च रक्तचाप हुने गर्दछ। त्यसैले यसलाई नियन्त्रण गर्नु जरुरी छ।
  • चिन्ता कम गरौँ: चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो। चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ न छुट्कारा नै। चिन्ताले गलत क्रियाकलापलाई पनि  उक्साउन सक्छ। जस्तै टेन्सन भयो भनि धूमपान गर्नु। बोर लाग्यो भन्दै रक्सी  पिउनु, अल्छी लाग्यो भनेर बढी सुत्‍नु आदिले पनि मधुमेह बढाउन महत्त्वपूर्ण सहयोग गर्छ। आराम गर्ने विभिन्न तरिका सिकेर चिन्तालाई टाढा राख्‍न सकिन्छ। यसले शरीरमा फूर्ति आउँछ।

यदि तपाईँलाई मधुमेह छ भने वार्षिक रूपमा यसको पुनर्विचार गर्नुपर्दछ। यसले तपाईँको मधुमेहसम्बन्धी जटिलता विकास हुन नदिई, कोरोनरी मुटुरोगको नियन्त्रणलाई सहयोग पुऱ्याउँछ।

(लेखक “कोरोनरी मुटुरोग” – २०१०  पुस्तकका लेखक हुन् )