नुवाकोटमा एक पुरूष तारमा चढेपछि जलविद्युत आयोजना नै बन्द गरियो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

नुवाकोटमा एक पुरूष तारमा चढेपछि जलविद्युत आयोजना नै बन्द गरियो



काठमाडौं- नुवाकोटको ककनीमा एक जना पुरूषको अनौठो हर्कतका कारण प्रहरी प्रशासन आजित बनेको छ। विद्युतको तारमा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने ४४ वर्षीय माइला विकको अचम्मको हर्कतबाट प्रशासन आजित बनेको हो।

शनिबार ककनी गाउँपालिका–७ मा रहेको पोलमा करिब ११ बजेदेखि विद्युतको हाइटेन्सन टावरमा चढेर उनी तारैतार हिँडेर अर्को ठाउँमा गइरहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनले भने ‘केही घण्टा उहाँ तारमा चढेर हिँडिरहनुभएको छ। तलबाट चिच्याएर कराएर फकाएर चल झर्न अनुरोध गरिरहेका छौँ।’

उनी बिजुली पोलमा चढ्दा ६० मेगावाटको ‘त्रिशूली थ्री ए’ जलविद्युत आयोजना नै अहिले बन्द गरिएको छ। उनले पोलमा चढेर विद्युत् लाइनहरू चलाउन थालेपछि स्थानीयले प्राधिकरणमा खबर गरेका थिए।

करेन्ट लाग्न सक्ने भएपछि विद्युत् बन्द गरिएको प्राधिकरणले जनाएको छ। त्रिशूली थ्री ए आयोजना बन्द हुँदा काठमाडौंको विद्युत् व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

तारमा चढेर हिँड्ने माइला विक भने बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका हुन्। स्थानीयका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ।