विजय चौधरीका बाबुले दिए प्रहरीमा उजुरी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विजय चौधरीका बाबुले दिए प्रहरीमा उजुरी



काठमाडौं- ललितपुरमा सोमबार भएको घटनामा मृत्यु भएका दाङका विजय चौधरीका बाबु जानकीले प्रहरीमा उजुरी दिएका छन् ।

उनले छोरा विजयको मृत्युमा स‌ंलग्नलाई कारबाहीको माग गर्दै बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका हुन् ।

उक्त घटनामा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या भएको थियो भने विजय पनि मृत फेला परेका थिए ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईले मृतक विजयका बाबु जानकी चौधरीले बुधबार छोराको मृत्युका विषयमा अनुसन्धान गरिदिन भन्दै उजुरी दिएको बाह्रखरीलाई बताए ।

“विजयका बाबु जानकीले आफ्नो छोराको कसरी मृत्यु भयो भन्‍ने विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भन्दै उजुरी दिनुभएको छ,” एसएसपी राईले भने, ”यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।”

विजय विगत १० वर्षदेखि कार्कीकै घरमा कामदारका रूपमा कार्यरत थिए । लामो समयदेखि कार्कीकै घरमा काम गर्दै आएका विजयले हत्यापछि आत्महत्या किन गरे भन्ने कुरा खुल्न नसकेको एसएसपी राईले बताए ।

उनले भने, ‘‘अहिले नै सबै कुरा भन्न सकिन्न । अनुसन्धान गरिरहेकै छौं । के कारणले घटना भयो पछि थाहा होला ।’’

प्रहरीले कार्कीको घरमा रहेका सीसीटीभी फुटेजको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा विजयले नै पिर्काले हिर्काएर मुनाको हत्या गरेको देखिएको महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिहंले बताएका थिए ।

उनले भनेका थिए, ‘‘आवेगमा आएर विजयले पछाडिबाट पिर्काले हिर्काएको देखिन्छ । त्यसपछि मुना भुइँमा लडेकी थिइन् ।’’ घाइते मुनाको अस्पतालमा ज्यान गएको थियो ।