मंगलबार देशभरका विद्यालय बन्द - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मंगलबार देशभरका विद्यालय बन्द



राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन्।

आफूहरूलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही विरोधमा उनीहरूले पठनपाठन बन्द गर्ने घोषणा गरेका हुन्।

प्रदर्शनमा प्रहरीले निषेधित क्षेत्र तोड्न लागेपछि हस्तक्षेप गरेको थियो।

माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीहरूले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो।

गत असोज २२ गते आफूहरूको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरू आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रिय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए।

उनले संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।

नेपालमा हाल ४० हजारभन्दा बढी राहत तथा ३६ हजारभन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरू रहेका छन्।