विद्यालय कर्मचारी परिषद् कैलालीले गर्‍यो बृहत् अन्तरक्रिया कार्यक्रम - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विद्यालय कर्मचारी परिषद् कैलालीले गर्‍यो बृहत् अन्तरक्रिया कार्यक्रम



गोविन्द बीसी

अत्तरीया,कैैैलाली । नेपाल विद्यालय कर्मचारी परिषद् कैलालीले बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार कैलालीको अत्तरीया स्थित दुर्गालक्ष्मी नमूना माविमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

विद्यालय कर्मचारी परिषदले प्रथम चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्लाभरका १३ वटै स्थानीय तह गाउँ/नगर कार्यसमिति, शिक्षक महासंघ, पेसागत शिक्षक संघ संगठन र सम्बद्ध सरोकारवाला निकायसंग अन्तरक्रिया गरेको जिल्ला सचिव रतन बहादुर कार्कीले जानकारी दिए । यस्तै शुक्रबार शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा गत साउन १४ गतेदेखि थालेको चरणबद्ध आन्दोलन अनुसार ३० र ३१ गतेसम्म देशभरका ७५३ वटै स्थानीय तहमा अन्तरक्रिया र ज्ञापनपत्र पेश गरिने र सरकारले माग सम्बोधन नगरी बेवास्ता गरे भाद्र ३ र ४ गते देशैभरीका सामुदायिक विद्यालय बन्द गरिने परिषदले जनाएको छ ।

कार्यक्रममा सहभागीले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना गर्न माग गरेका छन् । उनीहरुले विद्यालय कर्मचारीलाई निजामती वा शिक्षकसरह पदीय हैसियत तथा सेवा सुविधा निर्धारण गर्न माग राखेका छन् । विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीबीच पारिश्रमिकमा ठूलो विभेद गरिएको दुखेसो पोख्दै १२ घण्टासम्म काम गर्दै आएका कर्मचारीलाई श्रम शोषणबाट मुक्तगरी आफूहरुलाई न्याय दिन र आन्दोलनलाई सफल पार्न कर्मचारीले सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रम बोल्दै राहत शिक्षक समिति कैलालीका अध्यक्ष सागर जोशीले पेसागत मागहरू पूरा गर्न सबै कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिए । जोशीले बिगतमा राहत शिक्षकले आफ्ना पेसागत माग पूरा गर्न ठुलो संघर्ष गर्नुपरेको स्मरण गराउदै आन्दोलन नगरेसम्म राज्यको ध्यान जान नसक्ने बताए । कार्यक्रम जोशीले कर्मचारी आन्दोलनमा राहत शिक्षकको समेत साथ रहने बताए ।
यस्तै, बालविकास शिक्षक समिति कैलालीकी अध्यक्ष निर्मला तिमिल्सिनाले विद्यालयमा प्रायजसो कर्मचारी र बालबिकास शिक्षक नै मर्का परेको बताईन । उनले श्रम मन्त्रालयले तोकेको श्रम ऐनकानूनको ब्यवस्था बमोजिम बालबिकास शिक्षक र कर्मचारीले न्यूनतम पारिश्रमिक सेवा सुबिधा पाउनुपर्ने बताईन ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ गोदावरी नगर समिति अध्यक्ष शिवराज जोशीले शिक्षक कर्मचारी संघसंगठनले छुट्टाछुट्टै माग राखी आन्दोलन जानुभन्दा शिक्षक महासंघबाट एकताबद्ध भएर जान सुझाव दिए । यसैगरी नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष राजेन्द्र खड्काले सरकारले विद्यालयमा कार्यरत कर्मचारीलाई विभेद गरेको बताए । पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था आउनु दु:खद भएको खड्काले बताए । उनले शिक्षक महासंघमा विद्यालय कर्मचारीका पेसागत सुरक्षाका सवालमा आफुले पटकपटक आवाज उठाउदै आएको बताए । शिक्षक महासंघ जिल्ला अध्यक्ष भिमबहादुर बलायरले कर्मचारीका पेसागत मागहरू जायज भएको र महासंघले उठान गरिरहेको बताए । उनले राज्यका कर्मचारीका मागबाट बिमुख हुन नमिल्नेमा जोड दिए ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष शिवराज जोशी, एकीकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष धन बहादुर सिंह, नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह, नेपाल विद्यालय कर्मचारी परिषद प्रदेश-७ अध्यक्ष हरिलाल ओझा, शिक्षा विकास तथा समन्वय इकाई कैलाली प्रतिनिधि एवं स्रोतब्यक्ति राम प्रसाद फुलारा लगायतकाले सुझाव सहित मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला सचिव रनत बहादुर कार्कीको संयोजकत्वमा आन्दोलन मूल परिचालन कमिटी गठन गरेको छ । जसमा जिल्लाभरका १३ वटै स्थानीय तह गाउँ/नगर कार्यसमिति अध्यक्ष र जिल्ला कार्यसमितिका सदस्य रहेका छन् ।

जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षक महासंघ जिल्ला अध्यक्ष भिमबहादुर बलायर रहेका थिए ।
जिल्ला उपाध्यक्ष तेजराम चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन जिल्ला सचिव रतन बहादुर कार्कीले गरेका थिए ।

यस्ता छन् अान्दोलनका कार्यक्रमहरु :
१) २०७५/४/१५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा
ज्ञापन पत्र बुझाउने
२) २०७५/४/१५ गते पत्रकार सम्मेलन गरि अान्दोलनका
कार्यक्रम घाेषणा गर्ने ।
३) २०७५/४/१७ गते सातवटै प्रदेशमा प्रदेश समितिले
अन्तरक्रिया कार्यक्रम अायाेजना गरि अान्दोलनका
कार्यक्रम बारे जानकारी गराउने ।
४) २०७५/४/१८ गते सातवटै प्रदेशमा प्रदेश समितिले
केन्द्रीय ज्ञापनपत्रमा प्रदेश स्तरका माग समावेश गरि प्रदेश
सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने ।
५) २०७५/४/२४ गते ७७ जिल्लामा जिल्ला समितिले
अन्तरक्रिया कार्यक्रम अायाेजना गरि अान्दोलनका
कार्यक्रम बारे जानकारी गराउने ।
६) २०७५/४/२५ गते ७७ जिल्लामा जिल्ला समितिले
केन्द्रीय ज्ञापनपत्रमा जिल्ला स्तरका माग समावेश गरि
जिल्ला विकास तथा समन्वय इकाई तथा जिल्ला प्रशासन
कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने ।
७) २०७५/४/३० गते ७५३ स्थानीय तहमा गाउँ/नगर कार्य समितिले अन्तरक्रिया कार्यक्रम अायाेजना गरि अान्दोलनका
कार्यक्रम बारे जानकारी गराउने ।
८) २०७५/४/३१ गते ७५३ वटै स्थानीय तहमा गाउँ/नगर कार्य समितिले केन्द्रीय ज्ञापनपत्रमा स्थानीय स्तरका माग समावेश गरि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने ।
यी माथिक कार्यक्रमबाट पनि सरकार हाम्रो माग सम्बाेधन गर्न तयार नभए भाद्र ३ र ४ गते देशैभरिका सामुदायिक विद्यालय बन्द गर्ने, भाद्र ७ गते काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने र काठमाडौं जाऔ अभियान संचालन गरि राजधानी केन्द्रित शक्ति प्रदर्शन तथा धर्ना दिने जस्ता कडा अान्दोलनका कार्यक्रम गर्न बाध्य हुने छ ।