विद्युत् प्राधिकरणले लापरबाही गरेको भन्दै कार्यालयमा तालाबन्दी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

विद्युत् प्राधिकरणले लापरबाही गरेको भन्दै कार्यालयमा तालाबन्दी



किशोर तामाङ /कञ्चनपुर ।
कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा रहेको नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायको नेतृत्वमा मध्यान्ह प्राधिकरणको कार्यालयमा पुगेका कांग्रेसका नेता,कार्यकर्ता लगायतका स्थानियहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बेलौरी बितरण केन्द्रका ईन्चार्ज सुनिलकुमार शाह आएपछि बिद्युत शाखामा मौलाएको अनियमितता ,भ्रष्टाचार र घुस खाने प्रवृति बढ्दै गएको र शाहले गरेको लापरबाही र मनोमानीले गर्दा सर्वसाधारण जनताले सास्ती खेप्नु परेको देख्दादेख्दै कति चुप बस्ने भन्दै आक्रोसित समूहले तालाबन्दी गरेको हो । जनगुनासो आएपछि सो बिषय बारे सोधपुछ गर्दा झनै कार्यालयमै उपस्थित नभई दिने , सुनवाई नै नगरिदिने ,नेपाल सरकारको कार्मचारी पार्टीको कार्यकर्ता जस्तो शैलीमा रवाफ देखाउने कार्य हुदा बाध्य भई तालाबन्दी गरिएको बन्दाकर्ताले बताए ।

बेलौरी शाखा कार्यालयको कामकाज ठप्प नहुने किसिमले आन्दोलनको पहिलो चरणको रुपमा कार्यालय प्रमुखको कार्यकक्षमा मात्र ताला बन्दी गरिएको र यसलाई बेवास्ता गरेमा आफुहरु कडा भन्दा कडा आन्दोलन गर्न सक्ने बन्दकर्ताले चेतावनी दिएका छन । नेपाली कांग्रेसका बेलौरी नगर सभापती रामलाल रानाले तालाबन्दी गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताउनु भयो ।

लाईन बिस्तार गर्नु पर्ने ठाँऊमा लाईन बिस्तार नगर्ने,जहाँ भोल्टेजको कमी छ त्यहाँ ट्रान्सर्फमर नपठाई केन्द्रबाट पठाएको भनी नेपाल सरकारको कर्मचारी आफ्ना ओहोदा बिर्सेर पार्टी कार्यकर्ता जस्तो ब्यवहार ,सेवाग्राही संग रुखो ब्यवहार र रवैया , कमिसन खाएर मात्र काम गर्ने, प्रविृति बढदै गए पछि नेपाली कंग्रेसले यस बिषयमा ध्यानाकर्षण गराएको हो । नेपाल सरकारले दिएको तलबमा चित्त नबुझाई सर्वसाधारण जनतालाई दुःख दिने काम गर्नु भन्दा कार्यालय छोडेर अन्तै गए राम्रो हुने, यदि कार्यालय प्रमुख सुनिल कुमार शाहले आफ्नो बानी नसुधारे नेपाली कांग्रेस चुप नरहने पूर्वसभापती तथा महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह विष्टले चेतावनी दिनुभयो ।

कार्यालयमा न्यून उपस्थिति ,सवारी साधनको दुरपयोग ,मिटर बितरणमा समेत कमिसन खान खोज्ने,ट्रान्सफर्म र भोल्टेज थपमा पनि रकम माग गर्ने । सरकारी ट्रान्सफर्मर र पोल बितरणमा केही बिचौलियहरु संग मिलेर जहाँ कमिसन मिल्छ उतै माथिको आदेश हो भनी पठाउने गरेको जनगनासोहरु पटक पटक आए पछि कमीकमजोरी सच्याउन पटकपटक आग्रह गर्दापनि झनझन लापरबाही बढ््दै गएकोले तालाबन्दी गर्नुपरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापती गोपी प्रसाद उपाध्ययले बताउनु भयो ।

यस विषयमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बेलौरीका प्रमुख सुनिल कुमार शाह संग बुझ्न खोज्दा उनी कार्यालयमा तीेन दिन देखी अनुपस्थित रहेको कार्यालयमा उपस्थित एक कर्मचारीले जानकारी गराए । तद्पश्चात फोन मार्फत कुरा बुझ्न् खोज्दा सम्पर्क हुन सकेन ।

तालाबन्दी कार्यक्रममा नेपाली काँग्रेस पुनर्वासका नगरसभापति याम प्रसाद पौडेल,बेलौरी नगरपालिकाका नगर सभापाति रामलाल राना, नेपाली काँग्रेस बेलौरीका प्रत्यसी मेयरका उम्मेदवार हिरेन्द्र सिङ विष्ट लगायत सयौको संख्यामा पार्टी कार्यकर्ता लगायत स्थानियको उपस्थिति रहेको थियो ।