नागरिकता विधेयकमा एउटा संशोधन गरे एमालेले समर्थन गर्छ: अध्यक्ष ओली - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

नागरिकता विधेयकमा एउटा संशोधन गरे एमालेले समर्थन गर्छ: अध्यक्ष ओली



विराटनगर– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका आधारमा नागरिकता पाएकाबाट जन्मिएका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याए एमालेले सघाउने बताए ।

नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप उनले लगाए । नागरिकता विधेयकमा नहुने कुरा राखेर सरकारले उद्दण्ड मच्चाइरहेको उनको टिप्पणी गर्दै नागरिकता जस्तो गम्भीर विषयमाथि गठबन्धन दललाई भोटको राजनीति नगर्न आग्रह गरे। उनले

सरकार आफैंले राष्ट्रपतिको सन्देशलाई बेवास्ता गरी जस्ताको तस्तै पारित गरेर पठाएर तनाव लिने काम गरेको उनको भनाइ छ। नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन पनि सरकारसँग माग गरे।

अध्यक्ष ओलीले निर्वाचन मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गरेर गलत कार्य गरेको भन्दै रोक्नुपर्ने बताए । निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा निर्वाचन आयोगले लिनुपर्ने धारणा ओलीको थियो ।