विद्यार्थी कुटपिट र मृत्यु प्रकरण : ६ दिनसम्म पनि उठेन शव - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

विद्यार्थी कुटपिट र मृत्यु प्रकरण : ६ दिनसम्म पनि उठेन शव



धनगढी । शिक्षकको कुटाइले गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएका कञ्चनपुर भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका १५ वर्षीय छात्र माधव कलौनीको शव ६ दिनसम्म उठ्न सकेको छैन।

गत मंगलबार राति मृत्यु भएका कलौनीको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ। पोस्टमार्टम नगरिएकाले मृत्यु भएको ६ दिन बित्दा पनि दाहसंस्कार गर्न नपाएको भन्दै आफन्तले दुःखेसो पोखेका छन्। ‘हामीले छिटो पोस्टमार्टम गरेर भान्जाको दाहसंस्कार गर्न दिनुहोस् भनेर माग गरिरहेका छौं,’ माधवका मामा पुष्पमणि जोशीले भने, ‘पोस्टमार्टम नगरिदिएकाले शव उठाउन पाएका छैनौं।’

भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा गत मंगलबार राति मृत्यु भएका कलौनीको सो अस्पतालको पोस्टमार्टमको रिपोर्ट नआएकाले यहाँ पोस्टमार्टम गर्न नसकिएको प्रहरीको भनाइ छ।

कलौनीको भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा गत मंगलबार राति मृत्यु भएको थियो। दोस्रो दिन बुधबार साँझ उनको शव महेन्द्रनगर ल्याइएको थियो। सो अस्पतालको पोस्टमार्टमको रिपोर्ट नआएकाले यहाँ पोस्टमार्टम गर्न नसकिएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएका छन्। ‘उताको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र काहाँ काटेको छ ? के गरेको छ ? हेरेर पोस्टमार्टम गर्न मिल्ने भएकाले पोस्टमार्टम हुन नसकेको हो,’ उनी भन्छन्, ‘छिटो पोस्टमार्टम रिपोर्ट मगाउन कोसिस गरिरहेका छौं।’ उनको पोस्टमार्टम रिपोर्ट ल्याउन एक जना प्रहरी, कलौनीका बुबालगायत आफन्त दुईजना राममूर्ति अस्पताल गएका थिए। पोस्टमार्टम रिपोर्टका लागि सात दिनदेखि १० दिन लाग्ने भनेर सो टोलीलाई फर्काएको प्रहरी उपरीक्षक आचार्य बताउँछन् । यो समाचार नागरिक दैनिकका लागि धनगढीबाट दिलबहादुर छत्यालले तयार गरेका हुन् ।