बिचरा, स्कुल विभाग: विवाद अब नयाँ मोडमा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बिचरा, स्कुल विभाग: विवाद अब नयाँ मोडमा



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभागमा सहमति जुट्न नसकेपछि अर्काे बैठक दुई सातापछि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि २८ साउनका लागि अर्काे बैठक बस्ने गरी स्थगित भएको छ ।

नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक २८ साउनमा बस्ने गरी स्थगित भएको बताए । विभाग, आयोग लगायतको एकताका विषयमा सबैको राय बुझेर निर्णय गर्नेगरी बैठक मिति तय गरिएको बताए ।

‘सबै विभाग र जनवर्गीय संगठनमा केन्द्रीय सदस्यसहितका नेताहरुको चासो र रुचीबारे सोध्ने सहमति भएको छ’ श्रेष्ठले भने, ‘स्कुलसहित अन्य विभाग नेतृत्व गर्ने नेताहरुको चासोबारे अब सोधेर निर्णय हुन्छ ।’

सबै नेताको कुरा बुझेपछि मात्रै निर्णय हुने बताउँदै उनले विभाग र जनवर्गीय संगठनमा क–कसको दाबी छ भनेर बुझेपछि मात्रै केही निर्णय हुने बताए ।

सचिवालय बैठक बस्नु अघि तत्कालिन एमालेतर्फबाट सचिवालयमा रहेका नेताहरुको छुटै बैठक बसेको थियो ।

नेकपाको अन्य विभाग तथा आयोगमा सहमति भए पनि स्कुल विभागमा विवाद हुँदै आएको छ । स्कुल विभाग प्रमुखका लागि सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलका बीचमा रस्साकस्सी चलिरहेको छ । श्रेष्ठ पार्टी सचिवालय सदस्य र प्रवक्ताको जिम्मेवारीमा छन् । पोखरेल सचिवालय सदस्य र उपप्रधान तथा रक्षा मन्त्रीको जिम्मेवारीमा छन् ।