विप्लव आउलान् त मूलधारमा ? - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

विप्लव आउलान् त मूलधारमा ?



काठमाडौँ –  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टका विभिन्न समूहलाई आफ्नो पार्टीमा समावेश भएर मूल धारको राजनीतिमा सामेल हुन आग्रह गरेका छन्।

नेत्रविक्रम चन्द नेतृत्वसमूहका पोलिटब्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि नेकपामै सामेल हुनुपर्ने बताए।

विप्लव समूहले लिएको बाटो हिँडेर कतै नपुगिने भन्दै यही पार्टीमा आएर मूलधारमा मिसिनुपर्ने बताएका हुन्। विप्लव समूहका हिंसात्मक गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको छ। ‘म साथीहरूलाई कुनै पूर्वाग्रहबिना मूल राजनीतिक पार्टीमा समावेश हुन आग्रह गर्छु। आउनुस् बसेर छलफल गरौँ, संवाद गरौँ। इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौँ। देश र जनताका आकाङ्क्षा पूरा गरौँ। विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिऔँ। यो ऐतिहासिक आवश्यकता हो।’ अध्यक्ष प्रचण्डले आग्रह गरे।

उनले भने, ‘लामो बलिदान र सङ्घर्षबाट नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ। जनताले ठूलो भरोसा गरेको छ। हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ। सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौँ। यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुपर्छ। सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नुपर्छ। पार्टी प्रवेशको शृङ्खला रोकिने छैन।’

सरकारले समाजवादको उद्देश्यअनुरूप नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गरे। तुलनात्मक रूपमा तल्लो वर्ग र उत्पीडित वर्गलाई प्राथमिकता दिएर समाजवादको आधार तयार गरिरहेकाले कम्युनिस्टका नाममा छरिएर कसैले रहन नपर्नेमा जोड दिए।

अध्यक्ष प्रचण्डले वैधानिक, शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिस्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूलप्रवाहमा फर्कनु सही समयको सही निर्णय भएको उल्लेख गर्दै राईले विगतमा गरेको त्याग, बलिदानका आधारमा आवश्यक भूमिका दिइने वचन दिए।

आफैँले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरू बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा आज उनी पार्टीमा फर्केकामा खुशी लागेको अनुभव सुनाए। पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहनुभएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा , महासचिव विष्णु पौडेललगायतले राईलाई स्वागत गरेका थिए।

नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाइँ गर्दा कुनै शक्तिले केही नपाउने तर देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताए।

उनले आफू सो समूहमा रहेर सरकारसँगको वार्तामा अग्रसरता लिएको तर त्यो सफल नभएकाले हिंसाबाट एकले अर्कोलाई बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रूपान्तरणमा लाग्नुपर्ने आफ्नो निचोड रहेको सुनाए। उनले समृद्धिको सपना पूरा गर्ने दिशामा आफूले एक इँटाको काम गर्ने गरी आगामी राजनीतिक यात्रा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।