भूमि र भारतीय फौज दुबै फिर्ता गर्छौं: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

भूमि र भारतीय फौज दुबै फिर्ता गर्छौं: प्रधानमन्त्री ओली



काठमाडौँ । नेपालले भूभाग भारतले हालै जारी गरेको नयाँ नक्सामा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूभाग अलिकति पनि नछोड्ने बताएका छन् । 

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए । ओलीले आफ्नो भूभाग फिर्ता लिने र कालापानीबाट विदेशी फौजलाई पनि हटाउँने दाबी गरे । 

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे । अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको प्रष्ट पारे । 

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए । तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे ।