सुकुम्बासीका लागि खुसीको खबर - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

सुकुम्बासीका लागि खुसीको खबर



कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारासहित सगरमाथाको शिखर चुमेकी निमा छोकी शेर्पालाई सम्मान गर्न कल्याणकारी स्वयमसेवक संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले भने,‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति त्यसमा समावेश हुन्छ ।’
मन्त्री खनालले कृषि, पर्यटनले मात्रै स्वदेशमा रोजगारी सिजर्ना हुने र आर्थिक समृद्धि हाँसिल गर्न सक्ने दाबी समेत गरेका छन् ।

कृषि नीतिमा आमूल परिवर्तन गर्दै मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको पनि मन्त्री खनालले जानकारी गराए । ‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्नेखाले नीति ल्याउने अन्तिम तयारीमा हामी जुटेका छौं’–उनले भने ।

त्यस्तै खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति पनि त्यसमै समावेश हुने उनको भनाई थियो । हाल नेपालमा ११ प्रकारका भूमिहरु रहेको बताउँदै अब त्यसलाई ४ प्रकारका भूमिमा वर्गीकरण गरेर व्यवस्थित् गर्ने उनले जनाए ।

कृषि क्षेमा आधुनिकिकरण आवश्यक रहेको मन्त्री खनालको भनाई छ । उनले भूमिलाई कृषि, व्यवसायिक, औद्योगिक र बसोबास भूमिमा वर्गीकरण गरेर अहिले देखिएका समस्याको समाधान गरिने बताए ।

मन्त्री खनालले सगरमाथाको सफल आरोहण गर्ने छोकी शेर्पा र शर्मिला स्याङ्तानलाई बधाई दिए । उनले थपे,‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश बोकेर तपाईहरुले सगरमाथा चढ्नुभएको छ, यो साहसिक यात्रा पुरा गर्नुभएकोमा तपाईहरुलाई हार्दिक बधाई छ, त्यसमा पनि तपाईहरुले महिला सशक्तिकरणको मुद्दा लिएर यो काम गर्नुभएको छ, यो अर्को प्रशंसनीय काम हो ।’

नयाँ संविधानमा महिला हकअधिकार सुनिश्चित्ता भएको बताउँदै उनले आगामी दिनमा ती हक तथा अधिकारलाई संस्थागत गर्ने विश्वास दिलाए । उनले भने,‘ पुरुषवादी सोचहरुलाई प्ररास्त गर्दै अघि बढ्नुपर्नेछ, महिलाका बारेमा काम गर्नुहोस्, सरकारले सहयोग गर्छ, गौतम बुद्धका बारेमा विश्वमा रहेको भ्रमलाई अन्त्य गर्नमा तपाईहरुको आरोहणले थप सहयोग गरेको छ, सरकार तथा मेरै मन्त्रालयले सगरमाथाको उचाई नापिरहेको छ, यसभन्दा अघि विदेशीहरुले नापिदिन्थे, अब हामीले आँफैले सगरमाथाको उचाई र गरिमा नाप्दैछौं ।’

लुम्बिनिदेखी सगरमाथासम्मको सफल आरोहणकर्ता एवम् कल्याणकारी स्वयमसेवक संघ नेपाल प्रदेश नम्बर ३ की कोषाध्यक्ष छोकी शेर्पाले गौतम बुद्धप्रतिको विश्वमा रहेको भ्रमलाई चिर्नको लागि आफूहरु सगरमाथा आरोहरण गरेको बताईन् ।

उनले भनिन्,‘म पाँच वर्ष कोरियामा बस्दाखेरि हाम्रो देशमा जन्मिनु भएका विश्व प्रख्याँत शान्तिका अग्र दुत गौतम बुद्धको बारेमा धेरै भ्रम रहेको पाएँ, त्यस्तै वैदेशिक रोजगार र महिला शसक्तिकरणको अभियानलाई समेत हामीले उठाएका थियौं, मेरो साथमा शर्मिला स्याङ्तान हुनुहुन्थ्यो, उहाँले ८ हजार उचाई चुम्नु भयो, बाँकी सगरमाथाको उचाईमा जान स्वास्थ्यले साथ दिएन, मैले चुचुरोमा टेक्न सकें ।’

लुम्बिनिदेखि सगरमाथाको उचाई चुम्ने यात्राको बारेमा सुनाउँदै उनले भनिन्,‘बैशाख २६ बुधबारको दिन काठमाडौं छोडेका थियौं, सगरमाथाको क्याम–थ्रि बाट समिटको लागि जाने क्रममा मौसम खराब भयो, माथिबाट आरोहीहरु फर्किरहनु भएको थियो, हामीलाई मौसम बिग्रेको थाहा भयो, हामीपनि फर्किने अवस्थामा पुग्यौं, त्यसै क्रममा म करिब २ सय मिटर तल खसें, भाग्यवस अर्को आरोही साथीको शरिरमा अड्कीएर बाँचे, हातको कुहिना अझैसम्मपनि दुखिरहेको छ, म जीवनमा यो कुरा कल्यिै पनि बिर्सिन सक्दिन् ।’

उनले अघि थपिन्,‘त्यसको भोलिपल्ट फेरी हामी समिटको लागि हिड्यौं, चौथो क्याम्पमा पुगेर दुई घण्टा बढिसम्म आराम गर्यौ, त्यसपछि राती १० बजेदेखी समिटको लागि हिड्यौं, हामी करिब ४ घण्टासम्म्म जाम पर्यौं, जेठ २ गते दिउँसोको सवा १२ बजे समिटमा पुग्यौं, हामीले नेपालको झण्डा र बुद्धको मुर्ति उचाल्यौं, फोटो खिच्यौं, करिब २० मिनेट जति सगरमाथामा बस्यौं ।’

उनले अघि थपिन्,‘सगरमागथा चुमेर फर्किदा बीचमा दुःखहरु देख्नुपर्यो, आफ्नो पीडाभन्दा अरुको पीडा देखेर दुःख लाग्यो, चाहेरपनि सहयोग गर्न सकिएन, त्यसैले पनि भनेको होला साहसिक यात्रा, विभिन्न आरोह–अवरोहलाई छिचोल्दै १ महिना १३ दिन लगाएर सगरमाथाको सफल आरोहरण गरियो, सगरमाथाको जानकारी भएदेखिनै चढ्छु भन्ने लक्ष्य थियो, जीवनको लक्ष्य पूरा भयो, अब महिला शसक्तिकरणको अभियानसँगै पर्यटनको विकासलाई लक्ष्य बनाएर अघि बढ्नेछु ।’
पायोनियर एडभेन्चर ट्रेक प्रा.लि.को प्राविधिक सहयोगमा आफूहरुले सगरमाथाको सफल आरोहण गरेको पनि उनले जानकारी दिईन् ।

कार्यक्रममा संघका अध्यक्ष अक्कल तामाङले सगरमाथाको सफल आरोहण गरेर शेर्पा र स्याङतानले साहसिक कार्य गरेको भन्दै उच्च कदरसहित आफूहरुले सम्मान गरेको बताए । उनले भने,‘उहाँहरुले बुद्ध नेपालमा जन्मिनुभएको भन्ने सन्देश र महिला सशक्तिकरणको लागि सगरमाथा चढ्नु आँफैमा ठूलो कुरा हो, हामीलाई गर्व महशुस भएको छ।’
त्यस्तै कार्यक्रममा संघका तर्फबाट जेबी घिसिङले र राजन श्रेष्ठले पनि ओराहीहरुलाई बधाई दिँदै आफ्ना भनाई राखेका थिए ।