डोटीमा भूकम्पले ६ जनाको मृत्यु
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । गए रातिकाे भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र सात वर्षीय छोरा हर्क बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टले जानकारी दिए ।
यस्तै ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि मृत्यु भएको छ ।
भूकम्पले घर भत्काउँदा सोही वडाका ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा घाइते भएका र उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।
भूकम्पले जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसैगरी राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।