भित्रभित्रै एमसीसी पारित गर्ने सहमति, बाहिर विरोध - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

भित्रभित्रै एमसीसी पारित गर्ने सहमति, बाहिर विरोध



काठमाडौं । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसद्बाट अघि नबढाए सो परियोजना अब फिर्ता हुने र त्यसले सत्ता गठबन्धनमा नै असर पर्ने भन्दै स्पष्ट धारणा दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए । सोही छलफलमा आगामी तीन तहकै निर्वाचनमा सत्तारूढ दलहरू सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएपछि एमसीसीका विषयमा सत्तारूढ गठबन्धन आबद्ध शीर्ष तहमा सहमति बनेको हो ।

‘एमसीसी संसद्बाट पास गर्न सघाउने हो भने निर्वाचनमा पनि एकै साथ अघि बढ्न सकिन्छ, होइन भने गठबन्धन कायम नरहन पनि सक्छ, एमसीसीमा पनि सहमति गरौं, अन्य विषयमा पनि सहमतिका साथ अघि बढौं भन्ने प्रधानमन्त्रीको प्रस्ट धारणा रह्यो । होइन भने जोसँग पनि गठबन्धन हुन सक्छ भन्ने प्रस्ट धारणासहित प्रधानमन्त्री अघि बढेपछि एमसीसीमा सहमति जुटेको हो,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने ।

देउवाको सो धारणापछि माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपाल ‘राष्ट्रिय हित प्रतिकूल नहुनेगरी’ सम्झौता संसद्बाट पारित गराउन तयार भएका हुन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीलाई संसद्बाट अघि बढाउने विषयमा अब असहमति नरहेको बताए ।

‘एमसीसीलाई संसदबाट अघि बढाउने विषयमा पहिले जस्तो असहमति छैन, एमसीसी संसद्बाट अब टुंगो लगाउनुपर्छ भन्नेमा एकमत हुने अवस्था बन्दै छ, एक-दुई दिनमा नै यो विषय टुंगिन्छ,’ काग्रेस नेता पौडेलले भने । प्रधानमन्त्री देउवाले विगत लामो समयदेखि एमसीसी संसद्बाट पारित गराउने विषयमा गठबन्धनमा आबद्ध दलहरूको साथ खोज्दै आइरहेका छन् ।

शनिबार भने सत्तारूढ गठबन्धनको स्थानीय तहको निर्वाचनबारे छलफल गर्नुअघि शनिबार बिहानै उच्च तहमा छुट्टै बैठक बसेको थियो । सो बैठकमा एमसीसी र निर्वाचनबारे सहमति जुटेको बताइन्छ । तर, शीर्ष तहमा सो सहमति भए पनि गठबन्धनले बनाएको उच्चस्तरीय कार्यदलमा रहेका केही नेताहरूले भने एमसीसीको विरोध गर्दै आइरहेका छन् ।

‘माथिल्लो तहमा भित्रभित्रै नेताहरूबीच सहमति बनिसकेपछि तल्ला तहमा रहेका नेताहरूले विरोध गरिरहनुभएको होला, बाहिर विरोध भए पनि भित्रभित्रै सहमति भइसकेको विषय हो,’ गठबन्धनका एक नेताले भने । शनिबार साँझको बैठकअघि नै देउवा, प्रचण्ड र नेपालबीच शुक्रबार बिहान बालुवाटारमा सो विषयमा छलफल भएको थियो ।

सो सहमतिपछि प्रतिनिधि सभाको बैठक पनि डाकिएको थियो । तर पुनः प्रचण्ड र नेपालले आफ्ना दलभित्र आन्तरिक छलफल गरेर सबैलाई सहमतिमा ल्याएर अघि बढ्ने बताएपछि प्रतिनिधि सभाको बैठक १० दिन सारिएको बताइन्छ ।

सत्तारूढ गठबन्धनले एमसीसीबारे अध्ययन गर्न भन्दै कार्यदल नै बनाएका थिए । सो कार्यदल नेकपा एसका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा छ । सो कार्यदलमा माओवादी केन्द्र्रबाट नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

सहमति भएको छैन : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्तारूढ गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएको दाबी गरेका छन् । सत्तारूढ दलबाट एमसीसीका विषयमा अध्ययन गर्न बनाइएको कार्यदलका सदस्यसमेत रहेका श्रेष्ठले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत एमसीसीबारे कुनै सहमति नभएको दाबी गरेका हुन् ।

उनले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गरेका छन् । ‘कुनै भ्रममा नपरौं, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन, आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन, गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने पनि सत्य होइन, कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।