भीमसेनदास भन्छन : सरकार ढल्छ, गणतन्त्र जान्छ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भीमसेनदास भन्छन : सरकार ढल्छ, गणतन्त्र जान्छ



नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयकबारे शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि गरिएको दमनमा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् । संसद बैठकको सुरुमै विशेष समय लिएर उनले भने, ‘काठमाडौंवासी आन्दोलनमा उत्रिएपछि कसैले रोक्न सक्दैन, सरकार ढल्ने चिन्ता होइन संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्न सक्छ ।’

उनले २०६२÷६३ को आन्दोलनको एजेण्डा राजा फाल्ने नभए पनि काठमाडौँका जनता उठेपछि फालिएको बताउँदै बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। पृथ्वीनारायण शाहले उपत्यकामाथि विजयी गरे पनि यहाँको संस्कृतिमाथि धावा नबोलेकाले २४० वर्षसम्म शाह राजाको शासन सम्भव भएको उनले उल्लेख गरे।

‘काठमाडौँको भाषा, धर्म, संस्कृति र सम्पदाले विश्वमा चिनाएको तर अहिले सरकारले त्यसैमाथि धावा बोलेको छ, सरोकार भएकासँग छलफल नगरी गुठी विधेयक ल्याइएको छ,’ उनले भने।

सांसद प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली विश्व श्रम सङ्गठन (आइएलओ) को सम्मेलनमा हालै भाग लिएको उल्लेख गर्दै सन् १९९१ मा सङ्गठनको सम्मेलनले आदिवासी जनजातिको धर्म संस्कृतिका लागि गुठीको संरक्षण गरिनुपर्ने व्यवस्था पारित गरेकाले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरे।