चन्दा नदिए भौतिक कारबाही गर्ने विप्लव समुहको चेतावनी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

चन्दा नदिए भौतिक कारबाही गर्ने विप्लव समुहको चेतावनी



संखुवासभा- जिल्लामा पछिल्लो समय प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव समूह) का कार्यकर्ताले चन्दा आंतक बढाएका छन् ।

विप्लव कार्यकर्ताले जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका जनप्रतिनिधि र व्यापारीलाई फोनबाट धम्क्याउँदै चन्दा माग्ने गरेको बताइएको छ ।

विप्लव कार्यकर्ताले पाँचखपन नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरूलाई पटक–पटक फोन गरेर चन्दा मागेको स्रोतले जनाएको छ ।

चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की समेत आएको पाँचखपनकै एक जनप्रतिनिधिले बताए । केही समयअघि पाँचखपन नगरपालिकाको को.१ झ ५४० नम्बरको गाडी तोडफोड हुँदा त्यसमा विप्लव कार्यकर्ता संलग्न रहेको पाइएको थियो ।

विप्लव कार्यकर्ताले जिल्लाको चैनपुर, मादी, धर्मदेवी नगरपालिकाका जनप्रतिनिधिसँग फोनबाट चन्दा माग्ने गरेको र चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की दिने गरेको बताइएको छ ।

विप्लव कार्यकर्ताले २५ मंसिरमा मादी नगरपालिका–५ को वडा कार्यालय र स्काभेटरमा आगजनी समेत गरेका थिए । आगजनीबाट करिब दुई करोड बराबरको क्षति भएको मादीका नगर प्रमुख विदुर लिङ्थेपले बताए । यद्यपि प्रहरीले उक्त घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

विप्लवका दर्जन कार्यकर्ता पक्राउ
प्रहरीले विप्लव समूहका दर्जन बढी कार्यकर्तालाई पक्राउ गरिसकेको छ । विप्लव माओवादीका संखुवासभा इन्चार्ज देव गुरुङ र जिल्ला सदस्य सुनिता राई काठमाडौंको गौशालाबाट पक्राउ परेका थिए ।

त्यस्तै निमदोर्जी तामाङ, बुद्धिमान तामाङ, सञ्जय तामाङ, लेखबहादुर राउत, सुजन विश्वकर्मा र कोशी ब्यूरो सदस्य डिबी सिलवाल पनि पक्राउ परेका छन् ।

जिल्ला बाहिर पक्राउ परेका उनीहरू सबैलाई संखुवासभा ल्याइएको छ । उनीहरू अरुण तेस्रोमा आगजनीलगायतमा संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्लामै भने पाँचखपन–४ जलजलाका यामप्रसाद गौतम मात्रै पक्राउ परेका छन् ।

उनलाई प्रहरीले विस्फोटक पदार्थसहित केही साताअघि पाँचखपनबाटै पक्राउ गरेको हो । जिल्लाको पाँचखपन नगरपालिका र सिलिचोङ गाउँपालिका विप्लव समूहको मुख्य केन्द्र मानिएको छ ।

व्यापारीसँग १५ लाख माग
केही साताअगाडि मात्रै विप्लव कार्यकर्ताले चैनपुर नगरपालिकाका एक व्यापारीसँग १५ लाख रुपैयाँ चन्दा मागेको रहस्य खुलेको छ । उनलाई विप्लव कार्यकर्ताले पटक–पटक फोन गरेर चन्दा मागेको बताइएको छ ।

विप्लव कार्यकर्ताले चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की दिएपछि उनले प्रहरीमा उजुरी दिएको स्रोतले जनाएको छ । प्रहरीले उजुरी परेको स्वीकार गरे पनि सुरक्षाका कारण भन्दै नाम भने सार्वजनिक गरेको छैन ।

विप्लव कार्यकर्ताले जिल्लाका निर्माण व्यवसायीहरूलाई समेत फोनबाट चन्दा माग्ने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ